परमेश्वरको डर देखाउँदै आफ्नै अनुयायी महिलालाई तीन महिनादेखि बलात्कार

काठमाडौं, २९ पौष / धर्मको आडमा महिलामाथि यौन दुराचार गरेका घटना बाहिर आइरहेका बेला धर्मको आडमा एक व्यक्तिले अनुयायी महिलालाई तीन महिनासम्म पटक–पटक बलात्कार गरेको घटना अहिले बाहिरिएको छ ।

परमेश्वरको डर देखाउँदै आफ्नै अनुयायी महिलालाई तीन महिनादेखि बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुरबाट क्रिस्चियन धर्मका गुरु पास्टर लाई पक्राउ गरेको छ ।

परमेश्वरको त्रासमा पटक–पटक बलात्कार गरेको महिलाको उजुरीका आधारमा पास्टर ध्रुवबाबु जोशीलाई पक्राउ गरिएको ललितपुर महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिएका छन् । आइतबार साँझ पक्राउ परेका जोशीले चर्चमा प्रार्थना गर्न जाने सिलसिलामा एक महिलालाई परमेश्वर र पापको त्रास देखाई ३ महिनादेखि बलात्कार गरेको आरोप लागेको छ ।

रोग निको हुने विश्वासमा ललितपुरको मण्डली चर्चमा प्रार्थना गर्न जाने क्रममा पास्टर ध्रुवबाबु जोशीले तिमीले नराम्रो काम गरेका कारण रोग लागेको हो र त्यो पाप मेटाउन आफूसँग शारीरिक सम्पर्क गर्नुपर्छ भनेर बलात्कार गरेको पीडितले प्रहरीमा उजुरी दिएकी छन् ।

पहिलोपल्ट ललितपुर महानगरपालिकाअन्तर्गत चापागाँउमोडको एक गेष्ट हाउसमा बोलाएर जबरजस्ती बलात्कार गरेको र यो कुरा कसैलाई भने परमेश्वरले दिएको शक्ति नाश भएर जाने त्रास देखाउनाका साथै जे पनि गर्ने धम्की दिएको पीडित महिलाले बताएकी छन् ।

यस्तै दोस्रोपल्ट आफैंले चलाएको पसलमा आएर पास्टर जोशीले करणी गर्न खोज्दा आफूले अस्वीकार गरेको तर पहिला शारीरिक सम्पर्क भइसकेको कुरा परिवार र साथीभाइ सबैलाई सुनाउने धम्की दिंदै बलात्कार गरेको पीडित महिलाले बताएकी छन् ।

पछिल्लोपल्ट यही पुसको पहिलो हप्ता फेरि पसलमा आएर विभिन्न डरत्रास देखाई जोशीले बलात्कार गरेको पीडित महिलाले उजुरीमा उल्लेख गरेकी छन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएका छनर ।


प्रतिक्रिया दिनुहोस्