चीनबाट फर्किएका विद्यार्थीमा कोरोना भाइरस देखियो,कसरी सुरक्षित रहने ?

काठमाडौं – चीनबाट फर्किएका एक नेपालीमा कोरोना भाइरस देखिएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी एक नेपालीमा पनि कोरोना भाइरस फेला परेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

चीनको उहान सहरबाट हालसालै नेपाल फर्किएका एक विद्यार्थीमा यो भाइरस देखिएको हो । उनको उपचारसमेत भइसकेको छ। बिहीबार उनको रिपोर्ट सार्वजिन भएको मन्त्रालयले जनाएको छ । उनी १३ जनवरीमा उपचारका लागि आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जनवरी ९ मा नेपाल आएका ती विद्यार्थीमा रुघाखोकीको समस्या देखिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार उनी जनवरी १३ मा उपचार गर्न अस्पताल पुगेका थिए । उनको रिपोर्ट यहाँ चेक गर्दा राम्रै देखिएको भए पनि थप शंका लागेर हङकङ पठाइएको थियो ।

बिहीबार हङकङबाट आएको रिपोर्टमा कोरोना भाइरस देखिएको पुष्टि भएको थियो । पहिलो पटक चीनको वुहान प्रान्तमा फेला परेको कोरोना भाइरसबाट २६ जनाको मृत्यु भइसकेको छ । यसबाट वुहान प्रान्तमा करिब एकहजार संक्रमित रहेको चिनियाँ सञ्‍चारमाध्यमहरुले जनाएका छन् । दक्षिण कोरिया, थाइल्याण्ड, जापान, अमेरिका र ताइवानमा पनि कोरोना भाइरसका संक्रमित फेला परेका हुन् ।

त्यहाँ वुहान प्रान्तमा आवातजावतमा पनि प्रतिबन्ध लगाइएको छ । चीन सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि छुट्टै अस्पताल बनाइरहेको छ ।

चीनसँग सिमाना जोडिएको नेपालमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट आएका नागरिकको स्वास्थ्य परीक्षण गर्ने हेल्प डेस्क राखिएको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

के हो कोरोना भाइरस ?
विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०का अनुसार कोरोना भाइरसको समूह हो। जसले विशेषगरी श्वासप्रश्वास प्रणालीमा असर गर्छ। कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्छ। यसले सामान्य रुघाखोकीदेखि निमोनिया गराउने अनि मानिसको मृत्युसम्म हुन्छ।

अहिले देखिएको कोरोना भाइरस नयाँ प्रकारका हो। जुन पहिले मानिसमा पहिचान भएको थिएन। डब्लुएचओका अनुसार कोरोना भाइरसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम ९मार्स० र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम ९सार्स० को समस्या निम्त्याउँछ।

कसरी थाहा पाइन्छ ?

जाडोको मौसम छ । यतिबेला रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि यस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।

यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।

कसरी सुरक्षित रहने ?

यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो ।


प्रतिक्रिया दिनुहोस्