वातावरण संरक्षणसम्बन्धी चेतना फैलाउन बाल इको–क्लब गठन

प्रयास लिम्बू
ताप्लेजुङ, माघ १० गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाका विभिन्न चारवटा माध्यमिक बिद्यालयमा बाल इको–क्लब गठन गरिएको छ । बिद्यालयमा अध्ययनरत बालबालिकामार्फत वातावरण संरक्षणसम्बन्धी चेतना फैलाउने उद्देश्यले बाल इको–क्लब गठन गरिएका हुन् ।


आठराई त्रिबेणी गाउँपालिका–१ को निघुरादिनस्थित परमसिंह माध्यमिक बिद्यालय, वडा नं. २ को दुर्गा माध्यमिक बिद्यालय फुलबारी, वडा नं. ३ को सरस्वती नमुना माध्यमिक बिद्यालय हाङ्पाङ र वडा नं. ४ स्थित चाँगे माध्यमिक बिद्यालय चाँगेमा बाल इको–क्लब गठन गरिएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ताप्लेजुङको सहजीकरणमा उक्त बिद्यालयहरुमा क्लब गठन गरिएका हुन् ।


उक्त बिद्यालयहरुमा गठित बाल इको–क्लबमार्फत वातावरण संरक्षण, जीव तथा वन्यजन्तु संरक्षणसम्बन्धी सन्देश तथा चेतना फैलाउन सकिन्छ भन्ने अपेक्षा राखिएको फेकोफनका अध्यक्ष सुरज ओझाले बताउनुभयो । फेकोफनले तीनजुरे मिल्के जललजे संरक्षण क्षेत्रको आर्थिक सहयोगमा वन जङ्गल तथा वन्यजन्तु संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम गर्दै आएको र बाल इको–क्लब गठनको कार्य पनि योजनाभित्रकै कार्यक्रम भएको ओझाले जानकारी दिनुभयो ।


बिद्यालयमा गठन गरिएको बाल इको–क्लबहरुलाई अनुशिक्षण दिइने र आफ्नो गाउँ साथै टोलमा वातावरण तथा वन्यजन्तु संरक्षणसम्बन्धी चेतना फैलाउने कामको जिम्मेवारी दिइने पनि उहाँले जानकारी दिनुभयो । अन्य क्षेत्रका बिद्यालयहरुमा समेत क्रमशः बाल इको–क्लब गठन गर्दै जाने फेकोफनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्