अग्नि सापकोटा सभामुख चयनका लागि निर्विरोध निर्वाचित हुने निश्चित

काठमाडौं १२ माघ / संघीय संसद प्रतिनिधि सभाको सभामुख चयनका लागि आज आईतवार निर्वाचन हुँदैछ । सभामुख चयनको प्रक्रिया अगाडि बढाउन आज अपरान्ह तीन बजे प्रतिनिधि सभाको बैठक राख्ने भएको छ । सभामुखमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट स्थायी समिति सदस्य अग्नि सापकोटाको मात्र उम्मेद्वारी परेको छ ।

सापकोटाको मात्र एकल उम्मेद्वारी परेकाले प्रतिनिधसभाको नियमावली अनुसार उनी निर्विरोध निर्वाचन हुने छन् । तर अर्को उम्मेद्वारी नपरे पनि मतदान बाहेक निर्वाचनको अन्य प्रक्रिया भने पूरा गर्नुपर्नेछ । सापकोटाका प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र समर्थकमा पूर्व सभामुख ओनसरी घर्ती, नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र राजपा सांसद लक्ष्मणलाल कर्ण छन् ।

प्रस्तावक र समर्थकहरुले संसद बैठकमा बोलेपछि सापकोटा सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा हुनेछ । यौन हिंसाको अभियोगमा कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएपछि लामो समयदेखि सभामुख पद रिक्त छ । लामो समयपछि प्रतिनिधिसभाले सभामुख पाउने पक्का भएको छ ।


प्रतिक्रिया दिनुहोस्