कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८० पुग्यो तीन हजारभन्दा बढी सङ्क्रमित

काठमाडौं, १३ माघ / चीनको हुबेई प्रान्तबाट फैलन सुरु भएको कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या ८० पुगेको छ । निकै तीव्ररुपमा फैलिरहेको भाइरसका कारण तीन हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएको अधिकारीहरुले जनाएको छ । भाइरसको प्रकोपलाई रोक्न चीनियाँ नयाँ वर्षको सार्वजनिक बिदा पनि तीन दिन पछाडि सारिएको छ । हुबेईको वुहान शहरमा र अन्य शहरमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म हुबेई प्रान्तमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५६ देखि ७६ को बीचमा रहेको छ भने चार जनाको अन्यत्रै मृत्यु भएको छ । चीनमा मात्रै कोरोना भाइरसको दुई हजार सात सयभन्दा बढी घटना सार्वजनिक भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार तीन सयभन्दा बढी गम्भीर बिरामी छन् ।

५० लाख बढी चिकित्सा कर्मचारी हुबेई प्रान्तमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा सामेल भएका छन् । कम्तीमा दुई हजार शैंया क्षमताको नयाँ दुई वटा अस्पताल बनाइँदैछ भने कारखानाहरु मास्क र सुरक्षात्मक कपडा बनाउनका लागि जुटेका छन् ।

यसैबीच फ्रान्सका स्वास्थ्य मन्त्री एग्नेस बुजिनले चीन सरकारसँग भएको सम्झौतापछि यही हप्ताभित्र फ्रान्सेली नागरिकलाई हवाई जहाजको माध्यमबाट फ्रान्स ल्याउने तयारी भइरहेको बताए ।


प्रतिक्रिया दिनुहोस्