गायिका आस्था राउतको स्वास्थ्यमा समस्या

काठमाडौं, १४ / प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउतको स्वास्थ्यमा समस्या देखिएको । प्रहरी हिरासतमा रहेकी गायिका राउतको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार राति नै हिरासतबाट त्रिपुरेश्वरको ब्लुक्रमस अस्पताल भर्ना गरिएको छ ।

सोमबार साँझ नै गायिका आस्था राउतलाई अस्पताल भर्ना गरिएको काठमाडौं प्रहरी परिसर टेकुका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिएका छन् । हाइपर टेन्सनका कारण समस्या भएपछि अस्पताल लगिएको हो, । माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो । सिक्किममा आयोजित कार्यक्रममा भाग लिन जाने क्रममा भएको घटनापछि राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन् ।

राउतको भिडियो भाइरल भएपछि प्रहरी जवान श्रेष्ठले किटानी जाहेरी दिएकी थिइन् भने चार दिनपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । सोमबार बिहान अभिभावकसहित टेकु पुगेर राउतले प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् । त्यसपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौं उपस्थित गराएको प्रहरीले उनीमाथि अनुसन्धानका लागि चार दिनलाई अनुमति पाएको थियो ।

सामान्य विवादमा पक्राउ पूर्जी जारी गरेर चार दिन म्याद थप गरिएको भन्दै प्रशासनको आलोचना भइरहेको छ । पोखरामा प्रदेश सांसद दिपक मनाङ्गे ९राजीव गुरुङ० ले मञ्चमै आयोजकलाई कुटे पनि दुई दिनमै प्रहरीले उन्मुक्ति दिएको र सामान्य भनाभनकै विषयमा गायिका आस्था राउतलाई भने चार दिन हिरासत राखिनु उनीमाथि अन्याय भएको भन्दै सामाजिक सञ्जालमा प्रहरीको आलोचना भएको छ ।

प्रहरीले व्यक्ति हेरेर कानूनी कारबाही प्रक्रिया अघि बढाएको भन्दै आलोचना भइरहेको छ । यस्तै कलाकारहरुले पनि गायिका आस्था राउत आफै उपस्थित भएर माफी समेत मागिसकेको अवस्थामा चार दिन हिरासतमा राखिनु दुःखद भएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्