चीनबाट ल्याइने विद्यार्थीलाई प्राधिकरण भवनभित्र राख्‍ने तयारी, स्थानीयको चर्को विरोध

काठमाडौं । सरकारले चीनबाट ल्याइने नेपाली विद्यार्थीलाई काठमाडौंको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने भएको छ । तर स्थानीयले विद्यार्थीलाई त्यहाँ राख्दा आफूहरुमा पनि कोरोना सर्ने भन्दै विरोध जनाएका छन्‌।

स्थानीयले प्राधिकरणको गेटमै कालो ब्यानर टाँसी विरोध जनाएका हुन्। त्यसैगरि सडकका भित्तादेखि रुखसम्म विरोधका नारा लेखिएका पर्चा टाँसिएको छ। व्यापक विरोधका बीच पनि सरकारले प्राधिकरणको भवनभित्र क्वारेन्टाइनका लागि आवश्यक संरचना बनाइरहेको छ। कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म एक हजार १६ जनाले ज्यान गुमाइसकेका छन्‌। विभिन्‍न मुलुकहरुले चीनमा रहेका आफ्ना नागरिक उद्दार गरी स्वदेश फर्काइरहेका छन्‌ ।

नेपालले अहिलेसम्म आफ्नो नागरिकलाइ स्वदेश फर्काउन सकेको छैन् । चीनबाट स्वदेश फर्कन १८० नेपालीले आवेदन दिएका छन्‌ भने आवेदन दिए बाहेकका नेपालीहरू पनि नेपाल सरकारले पठाउने विमान कुरेर बसेका छन्‌। उद्दार गरी ल्याइने नेपालीलाई निश्चित अवधिसम्म क्वारेन्टाइनमा राखेर उपचार गरेपछि मात्र परिवार र आफन्तको जिम्मा लगाइनेछ ।


प्रतिक्रिया दिनुहोस्