तमु समुदायको १२ औं पार्षद भेलाको तयारी अन्तिम चरणमा

प्रयास लिम्बू
ताप्लेजुङ ।
ताप्लेजुङमा आउँदो फागुन ३ र ४ गते हुने दुई दिने तमु (गुरुङ) समुदायको राष्ट्रिय पार्षद् भेलाको तयारी अन्तिम चरणमा पुगेको छ । देशभरका गुरुङ समुदायका अगुवाको सहभागितामा हुन लागेको १२ औं पार्षद् भेलाको तयारी अन्तिम चरणमा पुगेको स्थानीय आयोजक तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् ताप्लेजुङले जानकारी गराएको हो ।

स्थानीय आयोजक तमु ह्युल छोँज धीँ तथा जिल्ला समन्वय समिति ताप्लेजुङको समन्वयमा आइतबार भएको समन्वय बैठकमा भेलाको तयारीबारे जानकारी गराइएको थियो । स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायत सरोकारवालाको बैठकमा हालसम्म भएको प्रगतिबारे पार्षद् भेला स्थानीय व्यवस्थापन समितिका प्रचार संयोजक देवराज गुरुङले जानकारी गराउनुभएको थियो ।

नेपाल भ्रमण वर्ष सन् २०२० र पाथीभरा म्याराथन तथा मेची क्षेत्र पर्यटन महोत्सव २०७६ लाई समेत सघाउ पु¥याउनेगरी भेला हुन लागेको स्थानीय आयोजक तमु ह्युल छोँज धीँका पदाधिकरीहरुले बताएका थिए । पाथीभराको उत्पति र यसको महत्व गुरुङ समुदायसँग जोडिएको हुँदा फागुन ९ देखि १३ गतेसम्म हुने पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवलाई भेलाले महत्वपूर्ण सहयोग पुग्ने उनीहरुको दावी छ । आयोजकले समन्वय बैठकमार्फत गुरुङको पार्षद भेलालाई सफल बनाउन सबै स्थानीय तह तथा निकायसँग आग्रह पनि छ ।

सदरमुकाम फुङ्लिङमा हुने पार्षद् भेलामा देशभर तथा भारतको सिक्किम लगायतबाट गुरुङ समुदायका अगुवा, बौद्धिक व्यक्तित्वसमेतको सहभागिता रहने हुँदा पर्यटकीय जिल्ला ताप्लेजुङको थप प्रचारप्रसारमा टेवा पुग्ने स्थानीय आयोजकले विश्वास लिएको छ । यहाँको पर्यटन, संस्कार संस्कृतिको अवस्था र नेपाल भ्रमण वर्षमा ताप्लेजुङबासीको उत्साह, जागरुकताका सन्देश भेलामा सहभागी भएकाहरुमार्फत देशभर पुग्ने अपेक्षा राखिएको तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् प्रदेश १ का उपाध्यक्ष यीगेन्द्रकुमार गुरुङले बताउनुभयो ।

यता समन्व बैठकमा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले गुरुङहरुको पार्षद् भेला सफल बनाउनका लागि आ–आफ्नो ठाउँबाट सहयोग गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । पार्षद् भेलामार्फत ताप्लेजुङको प्रचारप्रसार हुने देखिएको र नेपाल भ्रमण वर्षलाई समेत सफल बनाउनुपर्ने दायित्व रहेकोले आफ्नो ठाउँमा भेलाको प्रचार ब्यानरहरु राख्ने, स्वागतद्वार बनाउने लगायतका कार्य गरेर सहयोग गर्न मादेनले स्थानीय तहलाई आग्रह गर्नुभयो । यस्तै भेलामा सहभागी आगन्तुकका लागि होटल व्यवसायी, यातायात व्यवसायीजस्ता सेवा प्रदायक निकायलाई समेत सरल र सहज सेवा उपलब्ध गराउने समन्वय बैठकमार्फत आग्रह गरिएको छ ।

यता भेला सम्पन्न गर्नलाई स्थानीयस्तरमा १२ वटा विभिन्न उपसमिति बनाएर तयारीलाई तीब्रता दिँदै आएको बताइएको छ । अहिले सबै उपसमिति सत्रिय भएर पार्षद् भेलाको तयारीमा जुट्दै आएको तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्का जिल्ला अध्यक्ष एमवी लामा तमुले जानकारी दिनुभयो । लामाका अनुसार भेलामा देशभरबाट प्रतिनिधि र पर्यवेक्षकसमेत गरी करिव ५०० जना सहभागी हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्