गच्छदारसहित १७२ विरुद्द ठगी मुद्दा,सरकारी कर्मचारीलाई पनि नछोडिने

काठमाडौंं – ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेका १७५ जना मध्ये १७२ जनाविरुद्द ठगी मुद्दा दर्ता गरेको छ। आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआइबी)ले गृहमन्त्रालयको जाहेरीमा मुद्दा दर्ता गरेको हो ।

मुद्दा दर्तासँगै आरोपीहरुलाई पक्राउ गरेर मुद्दा अघि बढाउने बाटो खुलेको हो। यसबारेमा गहिरो अनुसन्धानमा रहेको सीआइबीका प्रवत्तासमेत रहेका एसपी बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।’ सीआईबीले कांग्रेसका उपसभापतिसमेत रहेका विजय कुमार गच्छदारसहित पूर्वमन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी, छविराज पन्त, पूर्वराज्यमन्त्री सञ्जयकुमार साह, अख्तियारका पुर्वप्रमुख दीपबहादुर बस्न्यात, तत्कालीन भूमिसुधार सचिव दिनेशहरि अधिकारीसहितलाई मुद्दा चलाउन माग गरेको थियो।

गृहको जाहेरी अनुसार आरोपी भनिएकाहरु अदालतबाट दोषी ठहरिए १० वर्षसम्म कैद, सम्पत्ति जफत र अख्तियारले तोकेको विगो बराबरको जरिवाना तिर्नुपर्ने छ। सीआईबीले १३६ रोपनी सरकारी जग्गा खरिदबिक्रीमा सहयोग पुग्ने गरी निर्णय गर्ने तत्कालीन सरकारका उच्च पदाधिकारी, सरकारी कर्मचारी, नक्कली मोही, दलाल, बिक्रीकर्ता र खरिदकर्ता गरी १७५ जनाविरुद्ध कारबाहीको सिफारिस गरेको थियो।

जग्गा खरिदबिक्रीमा संलग्‍नमध्ये गलत निर्णय गर्ने पदाधिकारी, नक्कली मोही, दलाल र खरिदकर्तासहित विभिन्‍न ‘वर्ग’मा विभाजन गरी कतिपयलाई प्रहरी हिरासतमा राखेर ठगी र किर्तेमा अनुसन्धान गर्नुपर्ने ब्युरो प्रहरीले जनाएको छ। ठगी र कीर्ते मुद्दा चलाउन गृह मन्त्रालयले लिखित उजुरी दिएसँगै पक्राउको बाटो खुलेको हो।


प्रतिक्रिया दिनुहोस्