कस्तो संयोग : पूर्वसभामुख महरा जेलबाट छुट्दा पूर्वउपसभामुख शिवमाया बनिन् मन्त्री

काठमाडौं – व्यवस्थापिकाका दुई पूर्व उच्च पदस्थको हकमा संयोगवश सोमबार अनौठो घटना भयो। संयोग कस्तो भने पूर्वसभामुख कृष्णबहादुर महराले जवरजस्ती करणी उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाउँदै गर्दा उनकै कार्यकालकी पूर्वउपभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन मन्त्रीमा नियुक्त गरिन्।

संसदमा दुई पूर्व उच्च पदस्थमध्ये एक महराले जवरजस्ती करणी उद्योगमा सभामुख पद गुमाउँदै जेलसम्म जानु परेको थियो। यता पूर्वउपसभामुख तुम्बाहाङफेलाई नेकपा नेतृत्वले सभामुखमा नपत्याउँदा सभामुख(उपसभामुख एकै दलबाट नहुने कानुनी व्यवस्थाका कारण पद छाड्नु परेको थियो।

महरा बलात्कार मुद्दामा पुर्पक्षका लागि जेल चलान भएपछि उपसभामुख तुम्बाहाङफेले अर्काले गरेको गल्तीको सजाय आफूले नभोग्ने भन्दै करिब तीन महिनासम्म पद नछाड्ने अडान लिइरहिन्। तर नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अनिच्छुक भएपछि उनले पद गुमाएकी थिइन्।

दुवै अध्यक्षले उपसभामुख पद त्यागेमा मन्त्री बनाउने आश्‍वासन दिएका थिए। दुई अध्यक्षको उक्त आश्वासन प्रतिनिधि सभाकी समानुपातिक सांसद तुम्बाहाङफेका लागि सोमबार पूरा भयो। तुम्बाहाङफे अपरान्ह ४ बजे मन्त्रि पदको सपथ लिन शीतल निवास पुग्दा महरा डिल्ली बजार कारागारमा पूर्वआइजी रमेशचन्द्र ठकुरीको हातबाट बिदाइको खादा लगाइरहेका थिए। सभामुख महरालाई संसद् सचिवालयमै कार्यरत एक महिला कर्मचारीले बलात्कार प्रयासको आरोप लगाएपछि उनले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।

त्यही अभियोगका कारण उनी सांसद पदबाट पनि निलम्बन भएका थिए। सफाइ पाएसँगै महराले अब संघीय संसदको अघिल्लो पङ्तिमा बस्न पाउनेछन्। गत असोजसम्म महरा देशको पाचौँ वरीयतामामा थिए। उपसभामुख तुम्बाहाङफे सातौँ वरीयतामा थिइन्। समामुख र उपसभामुख एकै दलको हुन नपाउने संवैधानिक व्यवस्था अनुसार तुम्बाहाङफेलाई नेकपाले उपसभामुख पदबाट राजीनामा दिन लगाएको थियो। लामो समयको विवाद पछि शिवमायाले राजीनामा दिएर सभामुख नेकपाबाटै बन्‍ने बाटो खुल्ला गरिदिइन्।

सभामुखमा पूर्व माओवादी तथा नेकपाका अध्यक्ष प्रचण्डनिकट अग्निप्रसाद सापकोटा सभामुख बने। उपसभामुख पद भने अहिले रिक्त छ। महरा १०३ दिन पछि घर फर्कँदै छन् भने शिवमाया मन्त्री बनेर फेरि सिंहदरबार पस्दैछिन् . Thahakhabar


प्रतिक्रिया दिनुहोस्