पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवमा भेडा प्रदर्शन

ताप्लेजुङ। ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा भेडा प्रदर्शन गरिएको छ । पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको तेस्रो दिन आइतबार तीन सय ५० बढी भेडा फुङ्लिङ बजारमा प्रदर्शन गरिएको छ । महोत्सवमा सहभागी आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन दिलाउने उद्देश्यले लेक क्षेत्रका गोठमा पालिने भेडा ल्याएर फुङ्लिङ बजारमा प्रदर्शन गरिएको हो । फुङ्लिङ नगरपालिका–११ फावाखोलाका कमल बिष्ट लगायत भेडा पालकका गोठमा रहेका भेडा फुङ्लिङ बजारमा ल्याइएको हो ।

चरन क्षेत्र अभाव लगायतका कारण हराउँदै गएको भेडा पालनलाई प्रवद्र्धन गर्ने साथै भेडापालन ताप्लेजुङको पहिचानको रुपमा रहेको परिचय दिने उद्देश्यले समेत भेडा प्रदर्शन गर्ने महोत्सवको कार्यक्रम तालिका अनुसार भेडा ल्याएर बजारमा प्रदर्शन गरिएको व्यवसायी कमल बिष्टले बताउनुभयो । लेकाली क्षेत्रमा पाइने साथै सधैं चरण क्षेत्रमा मात्र रमाउने भेडाको बथान फुङ्लिङ बजारमा ल्याएर प्रदर्शन गर्नलाई सहज भने नभएको बिष्टले बताउनुभयो । भेडालाई आहाराको व्यवस्थापन गर्न र बच्चा जन्माएका माउ भेडाको स्याहार–सम्भार गर्न निक्कै झन्झटिलो रहेको उहाँको भनाइ छ ।

यता फुङ्लिङ बजारमा भेडा प्रदर्शन गर्नाले बजारबासी तथा महोत्सवमा सहभागीलाई भने मनोरञ्जन दिएको थियो । भारत लगायतका विदेशी पाहुना साथै झापा, इलाम, पाँचथरसहित नेपालका विभिन्न ठाउँबाट महोत्सवमा सहभागी भएकाहरु भेडा प्रदर्शनप्रति निक्कै आकर्षित भएका थिए । भेडा हेर्न र भेडाको बथानसँग तस्बिर खिचाउनमा मानिसको तछाडमछाड देखिन्थ्यो ।
फुङ्लिङ बजारको तोक्मेडाँडाबाट शान्तिटोल, न्यूरोड, बीरेन्द्रचौक, टुक्रे, कोप्चे हुँदै महोत्सव कार्यक्रम स्थल भीमकाली गुल्मको प्राङ्गणसम्म भेडा प्रदर्शनले महोत्सवमा थप आकर्षण पनि थपिएको मूल आयोजक समिति अध्यक्ष तारानाथ घिमिरेले बताउनुभयो ।

घिमिरेका अनुसार महोत्सव मूल आयोजक समितिका अनुसार भेडासँगै केही चौंरी समेत लेकाली क्षेत्रबाट ल्याएर फुङ्लिङ बजारमा प्रदर्शन गरिएको थियो । यता महोत्सवमा खाद्य परिकार स्टल, कृषि तथा औद्योगिक प्रदर्शनी राखिएको छ भने सांगीतिक प्रस्तृति लगायत विविध गतिविधिहरु हुँदै आएका छन् । गएको शुक्रबार सुरु भएको महोत्सव मङ्गलबार सम्पन्न हुने छ ।


प्रतिक्रिया दिनुहोस्