अन्तर्राष्ट्रिय बुद्धिचालमा दुई चरणका खेल सम्पन्न

ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, फागुन ११ गते ।
आइतबारदेखि ताप्लेजुङमा सुरु पाथीभरा अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा दुई चरणका खेल सम्पन्न भएका छन् । दुई चरणका खेल सम्पन्न हुँदा भारतका मुकेश मण्लोई, किरण यादव, नेपालका सुमित पन्त, भूपेन्द्र निरौला, हरिशचन्द्र चौलागाई, राजेन्द्र राई र ओमप्रकाश लिम्बूले दुवै खेलमा सफलता हात पारी दुई अंक जोड्न सफल भएका छन् ।

पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको अवसर पारेर ताप्लेजुङ जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको प्रतियोगितामा पूर्व नेपाल च्याम्पियनहरु बद्रिलाल नेपाली, नवीन तण्डुकार, भारतका थेन्डुप तामाङ, रिषभ निसाध, राहुल कुमार, विमलेश कुमार सिंहले पनि दुवै खेलमा जित हात पारी दुई अंक नै जोडेका छन् । त्यस्तै नेपालका कृष्ण थापा र भारतका शुभम कुमार साढे एक अंक प्राप्त गरेका छन् । कृष्ण एशियिन एमेच्योर च्याम्पियन पनि हुन् ।

यसअघि ताप्लेजुङका जिल्ला बुद्धिचाल संघका अध्यक्ष राजकुमार मेन्याङ्बोको सभापतित्वमा भएको प्रतियोगिताको उद्घाटन प्रदेशसभाका सांसद बलबहादुर साम्सोहाङले गर्नुभएको थियो । नेपाल र भारतका गरी ८८ जना खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा कूल नगद पुरस्कार ६ लाख २६ हजार रुपैयाँ रहेको छ भने प्रथम, द्वितीय र तृतीयले क्रमशः ६० हजार, ५० हजार र ४० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

यता प्रतियोगितामा सबैभन्दा जेष्ठ खेलाडी भारत राजस्थानका आके गुप्ता हुनुहुन्छ भने बाल खेलाडीमा सबैभन्दा कम उमेर आठ वर्षीया रिस्ता गुरुङ सहभागी हुनुहुन्छ । प्रतियोगिता फागुन १५ गतेसम्म सञ्चालन हुने छ ।


प्रतिक्रिया दिनुहोस्