पाथीभरा म्याराथनको उपाधि सुमन र सुनमायालाई

ताप्लेजुङ । ताप्लेजुङमा भएको खुल्ला पाथीभरा म्याराथनमा महाकुलुङ गाउँपालिका–५ सोलुखुम्बुका सुमन राई प्रथम हुनुभएको छ । सदरमुकाम फुङ्लिङदेखि पाथीभरा पुगेर पुनः फुङ्लिङ आइपुग्नेगरी निर्धारित ४७ किलोमिटर बराबरको दूरी चार घण्टा १३ मिनेट २७ सेकेण्डमा पार गर्दै राई प्रथम हुनुभएको हो ।

खुल्ला म्याराथनमा फिदिम नगरपालिका १० पाँचथरका प्रताप थाम्सुहाङ द्वितीय र मुसिकोट गाउँपालिका–५ रुकुमका दुर्गाराज बुढा तृतीय हुनुभएको छ । थाम्सुहाङले चारघण्टा १४ मिनेट ९ सेकेण्ड र बुढाले चार घण्टा २९ मिनेट १७ सेकेण्डमा दुरी पूरा गर्नुभएको थियो । बुढाले त्रिभुवन आर्मी क्लबका धावक बेदबहादुर सुनुवारलाई पछि पार्नुभएको हो ।

यस्तै पाथीभरा महिला हाफ म्याराथनमा भने पत्रासी गाउँपालिका–२ जुम्लाकी सुनमाया बुढा प्रथम हुनुभयो । फुङ्लिङबाट सुरु भई पाथीभरा क्षेत्रको काफ्लेपाटी पुगेर पुनः फुङ्लिङ पुग्नुपर्ने २७ किलोमिटर बढी दूरी तीन घण्टा ३८ मिनेट ५७ सेकेण्डमा पुरा गर्दै सुनमाया प्रथम हुनुभएको हो । यस्तै त्रिभुवन आर्मीका सरिता बासीले तीन घण्टा ४८ मिनेट २४ सेकेण्ड र धादिङको छत्रेदेउराली गाउँपालिकाकी रसिला तामाङले चार घण्टा ५९ सेकेण्डमा निर्धारित दूरी पार गर्दै क्रमशः द्वितीय र तृतीय हुनुभयो ।

भैरवी दल गण पाँचथरमा कार्यरत ताप्लेजुङ चाँगेकी सविता बिकलाई पछि पार्दै तामाङ तृतीय हुनुभएको हो । यता खुल्लातर्फ म्याराथनका बिजेताले एकलाख ५१ हजार १११ रुपियाँ नगद पुरस्कार पाउनुभएको छ । द्वितीय र तृतीयले क्रमशः एकलाख ११ हजार १११ र ५१ हजार १११ रुपियाँ पाउनुभयो । महिला हाफतर्फ प्रथमले ८१ हजार १११ रुपियाँ, द्वितीयले ५१ हजार १११ रुपियाँ र तृतीयले ३१ हजार १११ रुपियाँ नगद पुरस्कार पाउनुभएको छ ।

प्रसिद्ध तीर्थस्थल पाथीभराको थप प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्य राखेर म्याराथनको आयोजना गरिएको पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव मूल आयोजक समितिका अध्यक्ष तारानाथ घिमिरेले बताउनुभयो । घिमिरेका अनुसार भारतको विभिन्न स्थानबाट २० जना बढी धावकसहित खुल्लातर्फ ९४ जना र महिला हाफ म्याराथनमा २४ जना धावक सहभागी भएका थिए । म्याराथनमा १४ वर्षदेखि ५० वर्ष बढी उमेरका समेत सहभागी भएका आयोजकले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्