प्रधानमन्त्रीले अस्पताल भर्ना हुनुअघि समृद्ध नेपाल र सुखी नेपालीका लागि ऐतिहासिक निर्णय गर्दै

काठमाडौं, १९ फागुन / प्रधानमन्त्री ओलीले आफू अस्पताल भर्ना हुनुअघि समृद्ध नेपाल र सुखी नेपालीका लागि ऐतिहासिक निर्णय गर्ने भएका छन् ।उनले अहिले बिहान ९ बजेपछि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने राष्ट्रिय योजना आयोगको १५ औं पूर्ण बैठकको अध्यक्षता गर्दैछन् । प्रधानमन्त्री आयोगका अध्यक्ष हुन् । यसमा राष्ट्रिय योजना आयोगको टिम, अर्थमन्त्री, मुख्य सचिव, अर्थ सचिवलगायत ८ सदस्य छन् ।

यो बैठकले समृद्धि र सुखका विषयमा ऐतिहासिक निर्णय गर्ने राष्ट्रिय योजना आयोगका प्रवक्ता मीनबहादुर शाहीले जानकारी दिएका छन् । ‘यो बैठकले नेपाललाई अल्पविकसित राष्ट्रबाट मध्यम आयस्तर भएको मुलुकमा परिणत गर्न महत्वपूर्ण निर्णय गर्दैछ,’ प्रवक्ता शाहीले सुनाए, ‘यो नीतिगत रूपमा ठूलै छलाङ हुनेछ ।’

यो १५औं बैठकले समृद्धिका चार र सुखका ६ परिभाषा गर्दै त्यो प्राप्तिका लागि नीतिगत निर्णय गर्नेछ । दिगो आर्थिक विकासमा जोड दिँदै यो बैठकले योजना पास गर्ने उनको भनाइ छ । नेपालको आर्थिक विकास र समृद्धिका लागि यो अहिलेसम्मकै ठूलो र परिवर्तनकारी नीतिगत निर्णय हुने उनको दाबी छ ।


प्रतिक्रिया दिनुहोस्