कोरोना भाइरसको औषधि तयार हुन ६-७ महिना लाग्छ, उपराष्ट्रपति माइक पेन्स

काठमाडौं २० फागुन / अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राण घातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने विस्वास दिएका छन् ।यसको खोप यस वर्षको अन्तसम्म वा अर्को वर्ष मात्र तयार हुनेछ, तर कोरोना भाइरस हुने मानिसहरूलाई राहत प्रदान गर्ने चिकित्सा सेवा आगामी अगष्ट वा सेप्टेम्बरसम्ममा उपलब्ध हुनेछ’, उपराष्ट्रपति पेन्सले भने ।

अमेरिकी औषधि कम्पनीहरूले नयाँ कोरोना भाइरसको उपचारका औषधि र खोपहरू विकास गर्न एकअर्कासँग सूचना आदानप्रदानसहित संयुक्त प्रयास गरिरहेको बताइएको छ ।उपराष्ट्रपति पेन्सले नयाँ कोरोना भाइरसको खोपको क्लिनिकल परीक्षण छ सातादेखि आरम्भ हुने बताए । कोरोना भाइरस सङ्क्रमित चार अमेरिकी नागरिकको सोमबार मृत्यु भएको थियो, र योसहित कूल मृत्यु हुनेको संख्या बढेर छ जना पुगेको छ । अमेरिकामा भाइरल सङ्क्रमित व्यक्तिको संख्या १०० पुगिसकेको छ ।

सोमबारसम्म यस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार नाघिसकेको छ । यीमध्ये अधिकांश व्यक्ति चीनका रहेका छन् । यद्यपि अन्य मुलुकमा नयाँ सङ्क्रमण दर चीनमा भन्दा १० गुणा बढी रहेको देखिएको संयुक्त राष्ट्र विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्वभर हाल करिब ८८ हजार ९४८ जना कोरोना सङ्क्रमित छन् । रासस


प्रतिक्रिया दिनुहोस्