मास्क लुकाउने र महँगोमा बेच्नेलाई अढाई लाख जरिवाना

काठमाडौं, २२ फागुन / कोरोना अहिलेसम्म विश्वका झण्डै ७० देशमा कोरोनाको संक्रमण फैलिइसकेको छ । नेपालमा कोरोनाको संक्रमण त्रासदी रुपमा फैलिएको छैन । तर, यसको जोखिम उच्च भएकाले सबैले जोगिने उपाय अपनाउन उचित हुन्छ ।

अहिले नेपालमा कोरोनाको त्रासदीलाई कमाउने मौकाको रुपमा समेत व्यापारीहरुले अपनाइ रहेको पाइएको छ । अहिले बजारमा मास्क , स्यानिटाइजरलगायतका मेडिकलजन्य सामग्री लुकाउने, महँगो मूल्य लिएर बेच्ने काम भइरहेको सर्वसाधरण बताउँछन् । मास्क स्यानिटाइजरलगायतका मेडिकलजन्य सामग्रीको कालोबजारी गर्ने कम्पनी तथा बिक्रेतालाई सरकारले कारबाही शुरु गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा मास्क अभाव भएको गुनासोपछि बजारमा अनुगमन तीव्र बनाएको र लुकाउने तथा बढी मूल्यमा कारोबार गर्नेलाई कारबाही थालिएको बताएको छ ।

विभागले हिजो काठमाण्डौको क्षेत्रपाटीमा रहेको नेपाल केयर सर्जिकल सप्लायर्सलाई मास्क लुकाएको आरोपमा दुई लाख रुपैयाँ र बिलबिना नै महँगोमा मास्क बिक्री गरेको आरोपमा सचिन ट्रेड कन्सर्नलाई १० हजार रुपैयाँ जरिबाना तिराएको छ । अन्य ८ वटा फर्मलाई सचेत गराइएको विभागले जनाएको छ ।

विभागले बुधबार पनि बजार अनुगमन गरी त्रिपुरेश्वरको खनाल सर्जरी सप्लायर्स, अर्चना सर्जिकल र फिस्टेल सर्जिकललाई पाँच हजार रुपैयाँका दरले जरिबाना तिराएको छ । उनीहरुले बिलबिना नै महँगोमा मास्क, स्यानिटाइजर लगायतका सामग्री बेचेको विभागले जनाएको छ ।
विभागले सोमबार त्रिपुरेश्वरकै स्वस्तिक सर्जिकल सप्लायर्सलाई २० हजार रुपैयाँ जरिबाना तिराएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्