काठमाडौंमा होली खेल्न प्रतिबन्ध

काठमाडौं, २२ फागुन / कोरोना भाइरसको जोखिमका कारण काठमाडौंमा होली खेल्न प्रतिबन्ध लगाइएको छ । जिल्ला सुरक्षा समन्वय समितिको बुधबार बसेको बैठकले होली खेल्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो । भिडभाड र जमघट हुने ठाउँमा कोरोना भाइरसको संक्रमण हुने खतरा भएकाले होली खेल्न नपाइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जानकारी दिएका छन् ।

काठमाडौंमा सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि अनिश्चितकालसम्मका लागि स्वीकृति नदिइने भएको छ । काठमाडौं बाहेकका अरु जिल्लामा पनि सकेसम्म होली नखेल्न सरकारले आग्रह समेत गरेको छ ।

भिड र समूहमा होली खेल्दा सङ्क्रमणको जोखिम हुन सक्ने भएकाले सकेसम्म होली नखेल्न सरकारले आग्रह गरेको हो । सरकारले भिडभाडमा नजान, भेला, सभा सम्मेलन नगर्न यसअघि नै आग्रह गरिसकेको छ ।
विद्यार्थी र अभिभावकलाई कोरोनाबारे सचेतना
सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घले विश्वव्यापी सङ्क्रमण भइरहेको कोरना भाइरसबाट बच्न अभिभावक, शिक्षक र विद्यार्थीलाई सार्वजनिक सूचना प्रवाह आरम्भ गरेको छ ।

उक्त भाइरसको सम्भावित जोखिमबाट घर र विद्यालयमा शिक्षक, बालबालिकालाई बच्न, बचाउन आव्हान गरेको हो । भाइरसबाट बच्न मानसिकरुपमा सन्त्रासमा नपर्न र प्रतीरक्षाप्रति विश्वास जगाउन, हात नमिलाउन र अङ्कमाल नगर्न, नियमित रुघाखोकीका लागि प्रयोग हुने सिटामोल र डिकोल्ड, साइनेक्स जस्ता औषधि घर र विद्यालयमा राख्न आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्