मालिकबाटै सर्‍यो कुकुरमा कोरोना भाइरस

एजेन्सी हङ्कङ, २२ फागुन हङकङमा कोरोना भाइरस संक्रमित मालिकबाट आफूले पालेको कुकुरमा संक्रमण सरेको हङकङका स्वास्थ्य निकायहरूले पुष्टि गरेका छन् ।

विशेषज्ञहरूले यसलाई ‘न्यूनस्तरको संक्रमण’ बताएका छन् । उनीहरूले यो मानिसबाट जनावरमा सरेको संक्रमणको पहिलो मामिला हुनसक्ने बताएका छन् । गत शुक्रबार गरिएको परीक्षणमा सो कुकुरमा कमजोर स्तरको कोभिड–१९ को लक्षण ‘पोजेटिभ’ पाइएको थियो ।

कुकुरलाई ठ्याक्कै संक्रमण भएको नभइ सोको लक्षणहरू उसका नाक र मुखमा देखिएको उनीहरूले बताएका छन् । कुकरलाई त्यहाँको कृषि, मत्स्य पालन र संरक्षण विभागमा थप परीक्षणका लागि क्वारेन्टाइनमा राखिने छ । हङकङका स्वास्थ्य विभागहरूले कोरोना भाइरस भएको पुष्टि गरे पनि एक स्वासप्रस्वास विशेषज्ञले भने त्यसमाथि प्रश्न उठाएका छन् । उनले रगत परीक्षण नगरिकन कुकुर संक्रमित भएको भनेर पुष्टि गर्न मिल्छ र भनेर प्रश्न गरेका छन् ।हालसम्म हङकङमा १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्