होमस्टे सञ्चालकलाई होटल व्यवस्थापन तालिम

प्रयास लिम्बू
ताप्लेजुङ, फागुन २८ गते ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँबास्थित फुङ्फुङ्गे सामूदायिक होमस्टेका सञ्चालकलाई होटल व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरिएको छ । साँबाको तेम्बा गाउँमा सञ्चालनमा आएको होमस्टे (घरबास) का सञ्चालकहरुलाई घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले तालिम प्रदान गरेको हो ।


जिल्लाको पर्यटकीय गन्तव्यको रुपमा रहेको फुङ्फुङ्गे झरना रहेको क्षेत्रमा भर्खरैदेखि होमस्टे सञ्चालनमा ल्याइएको हो । लिम्बू समुदायको मात्र बसोबास रहेको क्षेत्र तेम्बामा सुरु भएको फुङ्फुङ्गे सामूदायिक होमस्टेका सञ्चालकलाई होमस्टे सेवा व्यवस्थित बनाउनमा सहयोग पु¥याउने उद्देश्यले तालिम प्रदान गरिएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत देउप्रकाश तामाङले जानकारी दिनुभयो ।

फुङ्फुङ्गे झरनाको भ्रमण साथै दृश्यावलोकन गर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सविधालाई समेत दृष्टिगत गरी होमस्टे सञ्चालन गर्न सुरु गरिएको क्षेत्र तेम्बालाई छनोट गरी होटल व्यवस्थापन तालिम आयोजना गरिएको उद्योग अधिकृत तामाङले बताउनुभयो । त्यहाँ होमस्टे सञ्चालन गर्दै आएका स्थानीय १२ परिवारका एक–एकजनाका दरले १२ जनालाई तालिम प्रदान गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार तालिममा खानाका परिकार बनाउने ज्ञान, होटल आवास व्यवस्थापन तथा पाहुनाको स्वागत र सम्मान गर्ने तरिकाहरु सिकाइएको थियो ।

गत साताको आइतबारदेखि फागुन २७ गते मङ्गलबारसम्म सञ्चालित १० दिने तालिममा प्रशिक्षक गोविन्द लिम्बूले होटल व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षक लिम्बूले तालिममा विभिन्न स्वादिलो खानाका परिकार बनाउने तरिकाहरु सिकाउनुभएको थियो । होटल व्यवस्थापन तालिमले होमस्टे सञ्चालनमा ठूलो सहयोग मिलेको प्रशिक्षार्थी विजय लिम्बूले बताउनुभयो ।
फुङ्फुङ्गे सामूदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका लिम्बूले होमस्टेसम्बन्धी ज्ञान बिना नै फुङ्फुङ्गे झरनासहित पर्यटकीय क्षेत्रको भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी होमस्टे सुरु गरेकाले तालिमले सञ्चालकलाई राहत मिलेको बताउनुभयो । उहाँ जस्तै अन्य प्रशिक्षार्थीले पनि अब होमस्टेमा आउने पाहुनाका लागि रुचाउने खालको खानाका परिकार बनाएर दिनसक्ने सीप तालिमबाट सिकेको बताएका छन् ।
यता तालिम सम्पन्न भएपछि प्रशिक्षार्थीलाई जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै जिसस प्रमुख मादेनले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्न आवश्यक रहनेमा जोड दिनुभयो । उहाँले होमस्टेमा स्थानीय स्वस्थ्यकर खानाका परिकार र सरसफाइमा विशेष ध्यान पु¥याउन सञ्चालकहरुलाई आग्रह पनि गर्नुभयो ।

उता नेपाल सरकारले सूचिकृत गरेको एकसय पर्यटकीय गन्तब्यभित्र फुङ्फुङ्गे झरना समेटिएपछि भ्रमण गर्ने पर्यटकको सङ्ख्या पनि बिस्तारै बढ्न थालेको छ । बाह्य तथा आन्तरिक पर्यटकको आगमन बढ्न थालेपछि सो क्षेत्रका स्थानीयले पर्यटकलाई सेवा दिने साथै पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले होमस्टे सुरु गरेका हुन् । स्थानीय लिम्बू समुदायको कला, भाषा, संस्कार संस्कृतिको प्रस्तुतिसहित पर्यटकहरुलाई स्वागत तथा सम्मान गर्ने संस्कारको पनि सुरुवात गरिएको होमस्टे व्यवस्थापन समितिले जनाएको छ । उक्त होमस्टे दुई महिना अघि अर्थात माघ महिनाबाट सञ्चालनमा ल्याइएको हो ।


प्रतिक्रिया दिनुहोस्