टीएमजेको संरक्षण गर्न पहल

प्रयास लिम्बू ताप्लेजुङ । पूर्वी नेपालको पर्यटकीय क्षेत्रको रुपमा रहेको तिनजुरे मिल्के जलजले (टीएमजे) को संरक्षणमा सरोकारवालाले पहल थालेका छन् । गुराँसको राजधानीका नामले समेत परिचित टीएमजेको संरक्षण तथा प्रवद्र्धन गर्न दीर्घकालीन योजना बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् । ताप्लेजुङ, संखुवासभा र तेह्रथुमको सङ्गल स्थल टीएमजे क्षेत्रमा पछिल्लो समय सडक, बिद्युतीकरण लगायतका पूर्वाधार निर्माण साथै वन फडानीले गुराँस मासिने खतरा बढेको भन्दै सरोकारवालाले संरक्षणप्रति चासो दिन थालेका हुन् ।

प्रदेश १ सरकारको सहकार्यमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) प्रदेश १ ले फुङ्लिङमा आयोजना गरेको कार्यशाला गोष्ठीमा सरोकारवालाले पूर्वाधार निर्माण र काठ दाउरा फडानीको क्रमले वन तथा गुराँस मासिँदै गएकोप्रति चिन्ता व्यक्त गरेका टीएमजे क्षेत्रको वन तथा जैविक विविधता संरक्षणमा स्थानीय सरकार तथा सरोकारवालाको भूमिका कस्तो रहन्छ भन्ने विषयमा सोमबार र मङ्गलबार दुई दिने गोष्ठीमा संरक्षणका अवधारणबारे व्यापक छलफल गरिएको छ ।

जिल्लाको फुङ्लिङ नगरपालिका समेत पाँचवटा स्थानीय तहका जनप्रतिनिधि प्रमुखसहित सरोकारवाला सहभागिता रहेको गोष्ठीले टीएमजे क्षेत्रको जैविक विविधता तथा गुराँसको राजधानी कायम राख्नलाई सहमति जुटाएको छ । फेकोफन प्रदेश १ का अध्यक्ष तुलसी संग्रौलाका अनुसार टीएमजेको संरक्षणका लागि सो क्षेत्रमा बसोबास गर्ने नागरिकको प्राकृतिक स्रोत माथिको अधिकारलाई समेत सुरक्षित गर्दै अघि बढ्ने निर्णय भएको छ । संग्रौलाले सो क्षेत्रका नागरिकको धार्मिक, साँस्कृतिक, वन उपभोक्ताहरुको संरक्षण, सम्वद्र्धन र उपभोग अधिकारलाई निरन्तरता दिँदै जैविक विविधता संरक्षणमा पहल गरिने भएको बताउनुभयो ।

पर्यापर्टन विकास, वन व्यवस्थापन, जीविकोपार्जन साथै सबैखाले सामाजिक र आर्थिक विकासका कार्यलाई अझ प्रभावकारी बनाउँदै यस क्षेत्रको संरक्षणका योजना बनाउने गोष्ठी निस्कर्ष निकालेको पनि उहाँले बताउनुभो । यस्तै हाल भइरहेको वन तथा जैविक विविधताको क्षयीकरणलाई नियन्त्रण गर्दै टीएमजे क्षेत्रको संरक्षण र एकीकृत विकास तथा व्यवस्थापनका लागि सम्बन्धित निकायसँग अनुरोध गर्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो । गोष्ठीमा जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख घनेन्द्र मादेनले टीएमजेको संरक्षणमा सरोकारवालाले दिएको चासोप्रति प्रशंसा गर्नुभयो । फेकोफन लगायत वन संरक्षणमा संलग्न विभिन्न संस्थाको खेल्दै आएको भूमिका तथा योगदान सह्रानीय रहेको बताउँदै मादेनले जैविक विविधताको संरक्षण तथा प्रवद्र्धनमा स्थानीय सरकार लगायतका निकायबीच समन्वय र सहकार्य आवश्यक रहने बताउनुभयो ।


फुङ्लिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराईसहित टीएमजे क्षेत्रसँग सीमा जोडिएका आठराई त्रिबेणी गाउँपालिकाका अध्यक्ष विश्वनाथ सिटौला, मिक्वाखोला गाउँपालिका अध्यक्ष रामकुमार साँबा, फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ लगायत गाउँपालिका अध्यक्षको गोष्ठीमा सहभागिता रहेको थियो । त्यस्तै सो गाउँपालिकाका उपाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृतहरु र विभिन्न सरोकारवाला सङ्घ÷संस्थाका प्रमुखहरुको सहभागिता थियो । गोष्ठीमा फेकोफन प्रदेश अध्यक्ष संग्रौला, प्रदेश १ वन निर्देशनालयका उपनिर्देशक धनञ्जय लामिछाने, डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृत चन्द्रलाल राई लगायतले सहजीकरण गर्नुभएको थियो । ताप्लेजुङसहित तीन जिल्लाको सङ्गमस्थल टीएमजे क्षेत्र ५८ हजार २३३.३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । टीएमजेको कुल क्षेत्रफलमध्ये १४ प्रतिशत वन गुराँसले ढाकेको छ भने २८ प्रजातिका गुराँसहरु यस क्षेत्र पाइँन्छ ।

पछिल्लो समय तेह्रथुमको बसन्तपुर हुँदै गुफा–दोभान मदनभण्डारी राजमार्ग निर्माणको क्रम र कोशी करिडोरअन्तर्गत यसै क्षेत्र हुँदै विद्युतको कार्य हुने हुँदा टीएमजेको गुराँस तथा जैविक विविधतामा गम्भीर असर पुगेको फेकोफन लगायत वन संरक्षणमा क्रियाशील संस्थाहरुले जनाएका छन् ।

तस्बिर प्रयास


प्रतिक्रिया दिनुहोस्