तोक्पेगोला होमस्टे सञ्चालक समितिको अध्यक्षमा साँबा

काठमाडौं । तोक्पेगोला होमस्टे सञ्चालक समितिको अध्यक्षमा आइतवीर साँबा चयन हुनुभएको छ । साँबाको अध्यक्षतामा १७ सदस्यीय सञ्चालक समिति गठन भएको हो । उपाध्यक्षमा दोर्ची सेर्पा, सचिवमा मोहनचन्द्र साँबा र कोषाध्यक्षमा गंगा लिम्बु शेर्पा चयन हुनुभएको छ। पूर्वी हिमाली जिल्ला ताप्लेजुङको सुन्दर पर्यटकीय गाउँ तोक्पेगोला ढोक्पेमा सञ्चालन हुन लागेको होमस्टे आउँदो आर्थिक वर्षमा शुरू हुनेछ ।

यो क्षेत्र मिक्वाखोला गाउँपालिका वडा नम्बर १ साविक पापुङ गाविस वडा नम्बर १ मा पर्छ । आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धन साथै स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्नको प्रवर्द्धन गर्दै त्यहाँका ढोक्प्या लगायत स्थानीय कलासंस्कृति र पहिचानसमेतको प्रचार–प्रसार गर्ने उदेश्यले होमस्टे सञ्चालनमा ल्याइएको अध्यक्ष साँबाले जानकारी दिनुभयो ।

‘यहाँका समुदायको आर्थिक आयआर्जनका वृद्धिका लागि पनि यसले सहयोग पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौँ , ग्रामीण क्षेत्रको पर्यटन प्रर्वदनका लागि होमस्टेले महत्वपूर्ण टेवा पुर्याउने छ ’उहाँले भन्नुभयो, ‘मिक्वाखोला गाउँपालिकाभित्र रहेका ऐतिहासिक र पुरातात्विक महत्व बोकेका क्षेत्रको प्रचार–प्रसार गर्न र यहाँ आउने पर्यटकलाई खानाबस्नको सेवा सुविधा पुर्याउने उद्देश्यले होमस्टे सञ्चालन गरिएको हो ।

यहाँ आउने पर्यटकहरुले स्थानीय विभिन्न जातीय संग्रहालय, ऐतिहासिक सोदुपोखरी, भुतपोखरी, तीन पोखरी, जडिबुडी जोन, फुङफुङगे झरना लगायत सयौँ तालतलैयाको दृश्यावलोकन गर्न पाउनेछन् ।’

होमस्टे सञ्चालनका लागि स्थानीयवासी, पर्यटन मन्त्राल, स्थानीय निकाय साथै एनजिओ, आइएनजिओको सहकार्यमा सञ्चालनमा ल्याउन लागिएको उहाँले बताउनुभयो ।

होमस्टेमा आउने पर्यटकले स्थानीय उत्पादन हुने आलु,कोदो ढिँडो, लोकल कुखुराको मासु, सिस्नो, भटमास, टिमुरको अचारलगायत विभिन्न किसिमका स्थानीय परिकारको स्वाद चाख्न पाउनेछन् । गाउँघरको कला संस्कृति हेर्न पाइने मात्र नभएर गाउँमै पाइने अर्गानिक परिकार खान पाउँदा होमस्टे तर्फ आन्तरिक तथा बाह्य पर्यटक आर्कषित हुदाँ होमस्टे सञ्चालन गरी पर्यटकको आर्कषण बढाउने लहर शुरु भएको हो ।

सन् २०११ मा नेपाल भ्रमण वर्ष मनाउने क्रममा पहिलोपटक नेपालमा होमस्टेको शुरुवात गरिएको थियो । चितवन, पोखरा तथा काठमाडौँको आसपासका क्षेत्रबाट शुरुवात गरिएको होमस्टे अहिले देशका प्रमुख पर्यटकीय गन्तव्य वरिपरि फैलिएका छन् । कतिपय अध्ययनले होमस्टेका कारणले नेपालमा पर्यटकको संख्या वृद्धि भएको र पर्यटकको बसाइ अवधि लम्ब्याउन होमस्टेले महìवपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्