ताप्लेजुङ समाज नेपाल र बौद्ध गुम्बा कपनद्वारा अग्निपीडितलाई राहत (फोटोफिचर)

ताप्लेजुङ, बैशाख २६ गते । ताप्लेजुङका अग्निपीडितलाई राहत सहयोग जुट्ने क्रम जारी रहेको छ । सदरमुकाम फुङ्लिङ बजारका अग्निपीडितका लागि विभिन्न संस्थाहरुमार्फत राहत जुट्दै आएको हो । गएको साताको शुक्रबार फुङ्लिङ बजारको पुरानो बैङ्क लाइनको ट्याक्सी स्ट्यान्ड क्षेत्रमा भएको आगलागीबाट पीडित भएका परिवारका लागि अहिले विभिन्न सङ्घ÷संस्थाबाट राहत जुटिरहेको छ ।


राहत सहयोग जुट्ने क्रमसँगै शुक्रबार काठमाडौंमा रहेको ताप्लेजुङ समाज नेपाल र नेपाल बौद्ध महायान केन्द्र गुम्बा काठमाडौले पीडित परिवारलाई राहत वितरण गरेको छ ।

ताप्लेजुङ समाज नेपाल काठमाडौंले फुङ्लिङ बजारका २९ परिवार र मैवाखोला गाउँपालिका तथा आठराई त्रिबेणी गाउँपालिकाका अग्निपीडित समेत ३२ परिवारलाई राहत वितरण गरेको छ । पीडित सबै परिवारलाई प्रतिपरिवार १० हजार रुपियाँ राहत स्वरुप नगद प्रदान वितरण गरिएको ताप्लेजुङ समाज नेपालका महासचिव अग्नि पौडेलले जानकारी दिनुभयो ।


यस्तै नेपाल बौद्ध महायान केन्द्र गुम्बा कपन काठमाडौंले फुङ्लिङ बजारका अग्निपीडितलाई राहत स्वरुप जिन्सी सामग्री वितरण गरेको छ । महायान केन्द्रका प्रतिनिधि भिक्षु थुप्तेन जिग्डोल लामाका अनुसार अग्निपीडितलाई प्रतिपरिवार सिरक, डसना, तन्ना, तौलिया एक–एक थान, सिरानी दुई थान, प्रेसर कुकुर, कराई, डाडुपन्यू एक–एक थान वितरण गरिएको छ । एकद्वार प्रणालीबमोजिम वितरण गर्नुपर्ने व्यवस्था अनुसार राहत रकम तथा जिन्सी सामग्री फुङ्लिङ नगरपालिकामार्फत वितरण गरिएको छ ।

अग्निपीडित अधिकांश परिवारले राहत बुझेर लगेका र केही परिवार शुक्रबार अनुपस्थित रहेकाले उनीहरुको राहत बापतको रकम तथा जिन्सी सामग्री फुङ्लिङ नगरपालिकामा सुरक्षित रहने नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले बताउनुभयो । छुटेकाहरुलाई पनि सम्पर्क गरेर राहत बुझाइने नगर प्रमुख प्याकुरेलले जानकारी दिनुभयो ।

सहयोगी संस्थाहरुका पदाधिकारी, प्रदेशसभा सदस्य टङ्क आङ्बुहाङ, बलबहादुर साम्सोहाङ, होमकुमारी साँबा लगायत स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थितिमा पीडितलाई राहत वितरण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्