उपत्यकाबाट दैनिक हजारौँ बाहिरिदै

काठमाडौं/ उपत्यकामा दिनप्रतिदिन कोरोना संक्रमित संख्या बढिरहँदा पनि भित्रिनेको संख्यामा कमी आएको छैन। उपत्यका प्रवेश गर्ने नाकाबाट दैनिकजसो यात्रुहरु निर्बाध प्रवेश गरिरहेका छन्। चाडपर्व नजिकिँदै गर्दा उपत्यका छोड्नेको पनि संख्या बढिरहेको छ।

यतिबेला काठमाडौंमा कोरोना संक्रमण दर बढिरहँदा नाकाबाट दैनिकजसो हजारौँको संख्यामा बाहिरिरहेका छन्। काठमाडौंमा संक्रमण बढेसँगै ३ लाख ९३ हजार ८ सय २७ जनाले उपत्यका छोडेका छन्। बाहिरिने र भित्रिने दुवै सवारीसाधनका यात्रुहरुले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर गएका छन्। मास्क, स्यानिटाइजर तथा सामाजिक दूरी कायम गरेर मात्र गएका छन्। उपत्यकामा २१ दिनमा ३ लाख ७२ हजार ७ सय ६० मानिस भित्रिएका छन्। तराईका जिल्लाबाट र भारतीय नागरिकहरु बढी प्रवेश गरिरहेका छन्।

लकडाउन खुकुलो गरेसँगै बिनापिसिआर परीक्षण उपत्यका प्रवेश गर्नेको संख्या ह्वात्तै बढेको हो। लकडाउन अगाडि गएकाहरु अधिकांश मानिस खुकुलो भएसँगै रोजगारीका लागि आउने गरिएको पाइएको छ। सार्वजनिक यातायातमा यात्रा गरेर उपत्यका प्रवेश गर्ने यात्रुहरुले स्वास्थ्य मापदण्ड पालना गरेर आउने गरेको थानकोट प्रहरी वृत्तका प्रहरी निरीक्षक हेमबहादुर थापा बताउँछन्। बस तथा माइक्रोले पूरा क्षमताको सिटमा आधा यात्रु बोकी उपत्यका प्रवेश गर्ने गरेका उनले जानकारी दिए।

लकडाउन खुलेपछि उपत्यका छोडेर गएका मानिसहरु धमाधम भित्रिन थालेका छन उनले भने। उपत्यका प्रवेश गर्न पिसिआर परीक्षण गरेको प्रमाणपत्र नचाहिने भएकोले मानिस आउने क्रम नरोकिएको हो। वयस्क उमेरका मानिसहरु बढी प्रवेश गर्ने गरेको उनले जानकारी दिए। उपत्यका छिर्नेमा पुरुष रहेका छन्। यात्रु बोक्ने सार्वजनिक यातायात दैनिकजसो ३ सयको हाराहारीमा प्रवेश गरिरहेका छन्। जोरबिजोर प्रणालीको नियम पूर्ण रुपमा कायम गरिएको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्