कोभिड संक्रमित शान्ता चौधरीलाई सारियो आइसियुमा

काठमाडौं/ लक्षणसहितको कोरोना भाइरस कोभिड १९ संक्रमणसँग जुधिरहेकी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सचेत शान्ता चौधरीलाई आइसियुमा सारिएको छ। वीर कोभिड अस्पतालमा पाँच दिनदेखि उपचाररत उनलाई कोरोना भाइरस संक्रमणले चाप्दै लगेपछि भीआइपी आइसियुमा सारिएको हो।

चार दिनसम्म सधारण वार्डमा राखेर उपचार गराउँदा स्वास्थ्य झन् बिग्रिएपछि उनलाई आइसियुमा सारिएको हो। क्यान्सर जस्तो जटिल रोगलाई जितेकी शान्तालाई पछिल्लो समय दमले च्यापेको थियो। दमले च्यापिरहेकै बेला उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। शान्तालाई २०७१ सालमा स्तन क्यान्सर भएको थियो। जसको उपचार उनले भारतको नयाँ दिल्लीमा गरेकी थिइन्।

उपचारका लागि सरकारले दिएको रकमबाट बँचेको ५ लाख रुपैयाँ पनि उनले सरकारलाई नै फिर्ता गरेकी थिइन्। वीर कोभिड अस्पतालमा भर्ना भएपछि यही २० गते उनले आफूलाई श्वास फेर्न गाह्रो भएको भन्दै फोन नगरिदिन आग्रह गरेकी थिइन्। उपचारमा संलग्न चिकित्सकहरुले कोरोनाका कारण स्वास्थ्यमा जटिलता थपिएपछि शान्तालाई आइसियुमा सारिएको जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्