यमपञ्चकको चौथो दिन आज गाई र गोरु तिहार मनाइँदै

काठमाडौं । यमपञ्चकको चौथो दिन आइतबार (आज) गाई र गोरुको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । यो गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता मानेर सम्मान गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ ।

नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँशीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँशीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ।

यस्तै, आजैको दिन आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । यसैगरी वर्षभर जोतिने गोरु एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि यस दिन पूजा गरी मीठा–मीठा परिकार खुवाउने चलन छ ।


प्रतिक्रिया दिनुहोस्