माओवादी केन्द्र सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा अमर इधिङ्गो चयन

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सिदिङ्वा गाउँपालिकाको दोस्रो सम्मेलनबाट अमर इधिङ्गो लिम्बू अध्यक्षमा चयन हुनुभएको छ । शुक्रबार राति अबेर सम्पन्न सम्मेलनको बन्दसत्रले इधिङ्गोको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कार्यसमिति उपाध्यक्षहरुमा यामबहादुर बानियाँ, सुमित्रा सेलिङ र गौरीमान इधिङ्गो, सचिवमा किरण लिङ्देन, सहसचिवमा छविलाल चौहान चयन हुनुभएको छ । ताप्लेजुङका नौ स्थानीय तहमध्ये सिदिङ्वा गाउँपालिकामा माओवादी केन्द्रले निर्धारित तालिकाभन्दा एकदिन अघि नै पालिका सम्मेलन सम्पन्न गरेको हो ।
सिदिङ्वा गाउँपालिकाको दोस्रो सम्मेलनको उद्घाटन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) ले गर्नुभएको थियो । गाउँपालिका केन्द्र साब्लाखुमा शुक्रबार दिउँसो भएको पालिका सम्मेलनको उद्घाटन समारोहमा पार्टीका केन्द्रीय सदस्य आङ्बोसहित प्रदेश १ कमिटीका सदस्य एवम् ताप्लेजुङ जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग), प्रदेश कमिटी सदस्य तथा ताप्लेजुङ निर्वाचन क्षेत्र नं. १(क) का इन्चार्ज मिङमाडण्डु शेर्पा लगायतको उपस्थिति रहेको थियो ।
यता बाँकी रहेका ताप्लेजुङका आठमध्ये मिक्वाखोला गाउँपालिकाबाहेकका स्थानीय तहमा शनिबार सम्मेलन सम्पन्न हुने माओवादी केन्द्रका जिल्ला संयोजक विजयप्रकाश वनेमले जानकारी दिनुभयो । मिक्वाखोलामा भने मङ्सिर १३ गते सम्मेलन गर्नेगरी मिति तय गरिएको पनि जिल्ला संयोजक वनेमले बताउनुभयो ।
राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादी केन्द्रले देशभर वडा अधिवेशन सम्पन्न गरेको जनाएको छ । माओवादी केन्द्रले पालिकास्तरीय सम्मेलन शनिबार एकैदिन सम्पन्न गर्नेगरी यसअधि नै कार्यतालिका सार्वजनिक गरेको छ ।


प्रतिक्रिया दिनुहोस्