नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा ट्राभल्स सञ्चालक पक्राउ

झापा । नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ पक्राउ परेका छन् । तामाङले मेचीनगर नगरपालिका – ६ काँकडभिट्टाबाट विभिन्न उपकरणसहित पक्राउ गरेको हो । प्रहरीले कार्यालयबाट नक्कली रिपोर्ट बनाउने दुई थान ल्यापटप, एक थान प्रिन्टरसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताए ।

प्रवक्ता पाठकका अनुसार सञ्चालक तामाङले प्रयोग गरेको ल्यापटपमा इमेल जाँच गर्दा मेची प्रादेशिक अस्पताल भद्रपुर, कनकाई पिसिआर ल्याब, विएण्डसी अस्पताल, नेसनल पब्लिक हेल्थ ल्याब टेकु काठमाडौँ लगायतका अफिसियल लेटर प्याडलाई डिजिटल स्क्यान गरी पीसीआर रिपोर्टमा कोरोना नेगेटिभ लेखेर राखिएको फायल समेत फेला परेको छ। त्यसैगरी अनुसन्धानका क्रममा तामाङले नेपालको निशाना छाप एवं विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय ९नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजश्व कार्यालय भद्रपुरलगायतको छापलाई डिजिटल स्क्यान गरी सम्पादन गरेर राखिएको पाइएको छ ।

अनुसन्धानका क्रममा सो डकुमेन्ट अस्पतालले तयार नगरेको र रिङ्जी टुर एण्ड ट्राभल्सले कीर्ते गरेको खुल्ल आएकाले उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरी जिल्ला अदालत झापाबाट बुधबार सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको उनले बताए ।

उनले सो रिपोर्ट भारतलगायत तेस्रो मुलुकका विभिन्‍न स्थानमा कामका लागि जाने नेपाली, लामो समय नेपाल रहेर घर फर्किने भारतीयसँग एक हजार पाँच सय देखि पाँच हजार रुपैयाँ सम्म लिने गरेको पाइएको छ ।


प्रतिक्रिया दिनुहोस्