३ मिनेटको जुम कलमा ८०० कर्मचारीको गयो जागिर

एजेन्सी । बेलायतको समुद्री जहाज सञ्चालन गर्ने कम्पनी पी एन्ड ओ फेरिजले ३ मिनेटको जुम कलमार्फत आफ्ना ८०० कर्मचारीलाई जागिरबाट निकालेको छ ।

कम्पनीले गत मार्च १७ मा आफ्ना कर्मचारीलाई ‘ठूलो घोषणा’ को भिडियो सन्देश पठाएको थियो । भिडियो सन्देशमा कम्पनीले अब थर्ड पार्टी क्रु प्रदायकको सहयोगमा आफ्नो कार्य सञ्चालन गर्ने जनाएको छ । ‘तसर्थ तपाइँहरु सबैलाई सेवाबाट तत्काल लागू हुने गरी हटाइएको छ । आज तपाइँको कामको अन्तिम दिन हुनेछ’, सन्देशमा भनिएको थियो ।

कम्पनीका कर्मचारीहरुले यसबारे आफूहरुलाई पहिल्यै जानकारी नगरेको बताएका छन् । तर, कम्पनीका अधिकारीहरुले कर्मचारीहरुलाई ई–मेल, हुलाक, कुरियर र टेक्स्ट म्यासेजमार्फत जानकारी गराएको बताइन्छ । यो कम्पनीले विगत २ वर्षमा २० करोड पाउन्ड घाटा व्यहोरेको छ ।

केही महिनाअघि अमेरिकी कम्पनी बेटर डट कमले पनि जुम कलमार्फत ९०० कर्मचारीलाई जागिरबाट निकालेको थियो । यसरी नै ठूलो संख्यामा कर्मचारी निकाल्ने पी एन्ड ओ फेरिज दोस्रो कम्पनी बनेको छ ।


प्रतिक्रिया दिनुहोस्