विश्व कप :अर्जेन्टिनाको सहज जित 

एजेन्सी । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-० गोल अन्तरले हराएको छ  ।

अर्जेन्टिनालाई जिताउन निकोलस गोन्जालेज, एन्जल डी मारिया र लियोनल मेसीले एक९एक गोल गरेका हुन् । खेलको ३५औं मिनेटमा गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई सुरूआती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० ले अघि रहेको अर्जेन्टिनाले दोस्रो हाफमा थप २ गोल गर्‍यो । खेलको ७९औं मिनेटमा डी मारियाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ८२ औं मिनेटमा कप्तान मेसीले गोल गर्दै अर्जेन्टिनालाई ३-० को सहज जित दिलाए । यो जितसँगै अर्जेन्टिनाले १६ खेल ३८ अङ्क जोडेको छ ।

विश्वकपमा यसअघिनै छनोट भइसकेको अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा छ। भेनेजुएला १० अङ्क जोडेर पुछारमा छ । 

दक्षिण अमेरिकी छनोटबाट चार राष्ट्रले सोझै विश्वकपमा स्थान बनाउनेछन् । जसमध्ये ब्राजिल, अर्जेन्टिना, इक्वेडर र उरूग्वेले कतार विश्वकपमा स्थान पक्का गरिसकेका छन् । 

पाँचौ स्थानको टोलीले प्लेअफ छनोट खेल्नुपर्नेछ। जसमा पेरू, कोलम्बिया र चिली दाबेदार छन् ।


प्रतिक्रिया दिनुहोस्