दुई महामन्त्री : चुनावी तालमेल गर्न नहुने पक्षमा थापा, आवश्यकता हेरेर गठबन्धन गर्नुपर्ने पक्षमा शर्मा

काठमाडौं । नेपाली कांग्रेसका दुईजना महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माबीच चुनावी गठबन्धनलाई लिएर मत बाझिएको छ ।

सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री थापाले चुनावी तालमेल गर्न नहुने बताए भने अर्का महामन्त्री शर्माले आवश्यकता हेरेर गठबन्धन गर्नुपर्ने बताएका छन् ।

‘म गठबन्धनको पक्षमा छैन । गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न सकिँदैन । देशभरका लाखौँ मतदातालाई रुखबाहेक अन्यत्र भोट हाल्न भन्ने हो भने तिनले भविष्यमा रुखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी रु अहिले हँसिया हथौडा र कलममा भोट हालेको मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्ला त ?,’ थापाको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने । उनले कम्युनिष्टबाट लोकतन्त्र खतरामा रहेकोसमेत बताए ।

यता, शर्माले स्थानीय तहको निर्वाचनमा आवश्यकता हेरेर गठबन्धन सम्बन्धमा निर्णय गर्नुपर्ने बताए । ‘विगतको नतिजाको पनि विश्लेषणका आधारमा तालमेल आवश्यक रहेको छ ।’ शर्माले भने । यसअघि बोलेका शेखर कोइरालाले पनि चुनावी तालमेल गर्न नहुने बताएका थिए । कोइराला पक्षका नेताहरूले गठबन्धन गर्न नहुने बताउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्