रुस र युक्रेन युद्ध : स्टील आपूर्ति श्रृङ्खलामा अबरोध

एजेन्सी । रुस–युक्रेन युद्धको प्रभाव विश्व स्टील आपूर्ति श्रृङ्खलामा देखा परेको छ । स्टील उत्पादनमा विश्वकै ठुला मानिएका रुस र युक्रेन दुबै देश द्धन्द्धमा होमिएपछि स्टील आपूर्ति श्रृङ्खलामा अबरोध पुगेको हो ।

दुई देशबीचको युद्ध नरोकिँदा र पश्चिमा देशहरुले रुसमाथि कडा प्रतिबन्धहरु लगाउँदा रुसले निर्यात गर्ने कैयौँ सामग्रीहरुको आपूर्तिमा समस्या परेको छ । युद्ध लम्बिँदै जाँदा त्यसको प्रभाव स्टीलमा परेको जापानी स्टील उद्योगहरुले बताएका छन् ।

युद्ध अगावै पनि कोभिड–१९ले गर्दा चीनमा भएको लकडाउन र विश्वव्यापी रुपमा भएको चीप अभाव र आकाशिएको इन्धनको मूल्यले स्टीलको माग अनुसारको आपूर्ति हुन सकेको थिएन । पहिले नै सिर्जना भएको स्टीलको अभावमा युद्धले झन् समस्या निम्त्याएको छ ।

रुस स्टील उत्पादनको संसारकै सबैभन्दा ठूलो बजार रहेको र रुसबाट स्टील आयातमा प्रतिबन्ध लगाउँदा त्यसले विश्वव्यापी रुपमा समस्या सिर्जना गर्ने जापान स्टील तथा फलाम व्यवसायी महासंघका अध्यक्ष इजी हासिमोटोले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्