स्थानीय तहको निर्वाचन : उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने, २१ वर्ष पूरा भएको हुनेपर्ने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवार बन्न १९ बुँदे योग्यता निर्धारण गरेको छ ।

बुधबारको आयोगको बैठकले स्थानीय तह निर्वाचनसम्बन्धी कानुनमा भएको व्यवस्था र केही थप विषयलाई प्रस्ट पार्दै उम्मेदवार बन्नुअघि स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको हो । 

जसअनुसार स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिले आयोगले तोकेका १९ बुँदे नियम पूरा गर्नुपर्नेछ । जसअनुसार आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा नै सम्पत्ति विवरण बुझाउनुपर्ने छ । 

यसैगरी डिभी तथा पीआर भएकाले समेत निर्वाचनमा उम्मेदवार बन्न नपाउने गरी आयोगले नियम बनाएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिले उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नुअघि नै आयोगले तोकेका नियम मान्न १९ बुँदे स्वघोषणा गर्नु पर्ने छ । 

आयोगले उम्मेदवार बन्न तय गरेको योग्यतामा स्थानीय तहको ठेक्कापट्टा र अरू कारोबारमा संलग्न रहेको व्यक्तिलाई उम्मेदवार हुन रोकसमेत लगाएको छ ।

यसैगरी आयोगले स्थानीय तहलाई कुनै जिन्सी वा नगद बुझाउन बाँकी भएको व्यक्तिलाई उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ । सरकारी पेस्की लिएको तथा बेरुजु तिर्न बुझाउन बाँकी रहेका व्यक्तिले समेत उम्मेदवार बन्न पाउने छैनन् ।

यसैगरी, उम्मेदवार बन्न चाहने व्यक्तिले प्रचलित कानुनमा तोकिएका सबै कागजात बुझाउनुपर्छ भने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको समानुपातिकको बन्द सूचीमा नभएको स्वघोषणा समेत गर्नुपर्नेछ ।

यस्तै, उम्मेदवार बन्न इच्छुकले न्यायिक वा अर्धन्यायिक निकायबाट लागेको कैद, सजाय र जरिवाना तिर्न बाँकी भए बुझाउनुपर्ने व्यवस्था पनि गरेको छ ।

निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता पनि उम्मेदवारले अनिवार्य रूपमा जनाउनुपर्नेछ भने उम्मेदवारले तोकिएको सीमाभित्र रहेर खर्च गर्नुपर्नेछ ।

निर्वाचन आयोगले सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउनेगरी लाभको पद धारण गरेका व्यक्तिलाई पनि उम्मेदवार हुन अयोग्य घोषणा गरेको छ । यो व्यवस्था निर्वाचन ऐनमा समेत छ ।

उम्मेदवार बन्न चाहने व्यक्ति नेपाली नागरिक भएको हुनुपर्नेछ । यस्तै, नेपालको संविधानप्रति पूर्ण निष्ठावान् रहेको घोषणा गर्नुपर्ने छ भने २१ वर्ष उमेर पूरा भएका व्यक्ति मात्रै उम्मेदवार बन्न योग्य हुनेछन् । 

उम्मेदवार बन्न चाहने व्यक्ति गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ । यस्तै, स्थानीय तह निर्वाचनसम्बन्धी कुनै कानुनले अयोग्य नभएको व्यक्ति मात्रै उम्मेदवार बन्न पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्