रक्तदान गर्दा बिटक्वाइन उपहार

एजेन्सी । अमेरिकाको औषधि कम्पनी अक्टफार्मा प्लाज्माले स्वान बिटक्वाइन र स्पेड पेमेन्ट सोलुसनसँगको सहकार्यमा रक्तदान अभियान सुरु गरेको छ ।

यसअन्तर्गत प्लाज्मा दान गर्दा दातालाई बदलामा बिटक्वाइन दिइनेछ । कम्पनीले विज्ञप्तिमा दातालाई प्रत्येक पटक प्लाज्मा दान गर्दा १०० डलरबराबरको बिटक्वाइन दिइने जनाएको छ । यो अभियान हालसम्म ३२ ठाउँमा सुरु भइसकेको छ ।

दाताले ७ दिनमा बढीमा २ पटक प्लाज्मा दान गर्न सक्ने कम्पनीले जनाएको छ । एकपटक दान गरेपछि दोस्रोपटकका लागि कम्तीमा ४८ घन्टा पर्खनुपर्नेछ । यसरी हप्तामा २ पटक प्लाज्मा दान गर्दा एक दाताले बढीमा १० हजार डलर रुपैयाँ कमाउन सक्छन् ।

यो अनौठो अभियानले धेरै भन्दा धेरै मानिसलाई प्लाज्मा दान गर्न प्रोत्साहित गर्ने कम्पनीको दाबी छ । ‘यसले धेरैको जीवन बचाउन उपयोगी हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्