विश्वभरका धनीहरूको सूचीमा विनोद चौधरी

काठमाडौं । विश्वभरका धनीहरूको बारेमा सूची प्रकाशन गर्ने फोर्ब्सले यो वर्ष पनि विश्वभरका डलर अर्बपतिहरूको सूची सार्वजनिक गरेको छ ।

गएराति सार्वजनिक सूची अनुसार दक्षिण एसियामा भारतमा बाहेकका अर्बपति नेपालका विनोद चौधरी मात्र रहेका छन् । दक्षिण एसियाका देशहरूमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपालमात्र परेका हुन् ।

दक्षिण एसियाका अन्य मुलुकहरू श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानका कुनैपनि व्यवसायी अर्बपतिको सुचीमा परेका छैनन् । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्तिमा पनि वृद्धि भएको छ ।

फोर्ब्सका अनुसार उनको सम्पत्ति गत वर्ष १.४ अर्ब डलर रहेकोमा यो वर्ष दश करोड डलरले वृद्धि भई १.५ अर्ब डलर पुगेको छ । व्यवसायी चौधरी फोर्ब्सको सुचीमा १९२९ नम्बरमा छन् । चौधरी २०१३ देखि अर्बपतिहरूको सुचीमा निरन्तर रहँदै आएका छन् ।

यस्तै उक्त सूचीका अनुसार दक्षिण एसियाको अर्को मुलुक छिमेकी भारत विश्वका धेरै अर्बपति रहेको मुलुकहरूमध्ये तेस्रो भएको छ । भारतमा १ सय ६६ अर्बपति रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्