सत्ता गबठन्धनलाई भागबण्डा टुंग्याउन मुस्किल

काठमाडौं । स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सत्ता गबठन्धनलाई भागबण्डा टुंग्याउन मुस्किल देखिएको छ । विशेषगरी महानगरपालिका र नगरपालिकाको नेतृत्व टुंग्याउन सत्तागठबन्धनलाई सकस देखिएको हो ।

माओवादी केन्द्रको प्रमुख आकांक्षा देखिएको चितवनको भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस पनि आकांक्षी देखिएपछि दुबै पक्ष आफ्नो उम्मेद्वारी रहने दाबी गर्न थालेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरको मेयरमा माओवादी केन्द्रकै उम्मेद्वार रहने टुंगो लागेको बताएका छन् । भूमिहीन सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गर्न चितवन पुगेका प्रचण्डले भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रबाटै उम्मेद्वार रहने दाबी गरेका हुन् ।

तर नेपाली कांग्रेसका नेताहरु भने भरतपुर महानगरपालिकाको नेतृत्व आफूहरुले पाउनुपर्ने बताउँछन् । तर, नेकपा माओवादी केन्द्रका चितवन जिल्ला संयोजक रामचन्द्र अधिकारी भने जिल्लामा माओवादी केन्द्रप्रतिको आकर्षण चुलिएकोले भरतपुरको उम्मेद्वार आफ्नै पार्टीले पाउनुपर्ने बताउँछन् ।

चितवन महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुबैले दाबी गरिरहेका छन् भने पोखरा महानगरपालिका नेकपा एकीकृत समाजवादीको दाबी देखिएको छ ।

यस्तै, बुटवल, हेटौँडा, रुपन्देही र पाल्पा लगायतका जिल्लाको नेतृत्व टुंग्याउन पनि उत्तिकै सकस परेको छ । तर, हालसम्म अर्घाखाँची, अछाम, धनकुटा, नुवाकोट, तनहुँ, चितवन, कञ्चनपुर लगायतका जिल्लाले भने निर्वाचनमा तालमेल गरेर जाने सहमतिसहित खाका तयार भइसकेको छ ।

सत्ता गठबन्धनले रामचन्द्र पौडेलको नेतृत्वमा स्थानीय तह चुनाव केन्द्रित तयारी तथा अनुगमन समिति बनाएको छ । जसमा कांग्रेसका महामन्त्री गगन थापा र सञ्चार मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् ।

यस्तै, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देवप्रसाद गुरूङ, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र नेता विजय पौडेल, जसपाबाट वरिष्ठ नेता अशोक राई र मन्त्री रेणु यादव, राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य छन् ।

एउटा दलका मतदाताले अर्को दलको उम्मेद्वारलाई भोट नहाल्ने संकते गरेपछि शीर्षस्थ नेतालाई नेतृत्व व्यवस्थापन झनै चुनौतीपूर्ण बनेको छ ।


प्रतिक्रिया दिनुहोस्