मलेसियामा करिब ५ लाख नयाँ विदेशी कामदार भर्नाका लागि आवेदन

काठमाडौं । मलेसियामा करिब ५ लाख नयाँ विदेशी कामदार भर्नाका लागि रोजगारदाताबाट आवेदन परेको छ ।

कोरोना भाइरस संक्रमण घटेको र आर्थिक तथा सामाजिक गतिविधिमा तिव्रता आएपछि मलेसियाले कोरोना भाइरस संक्रमण देखिनु अघि जसरी नै विदेशी कामदार ल्याउन थालेको छ ।

मलेसियाका प्रधानमन्त्रीले आगामी मे महिनादेखि सबै कामदारको न्यूनतम तलब १५ सय रिँगेट हुने घोषणा गरिसकेका छन् । कतिपय बहुराष्ट्रिय कम्पनीहरूले अप्रिलदेखि नै न्यूनतम तलब १६ सय रिँगेट दिन थालेको बताएका छन् ।

फ्रि मलेसिया टुडे अनलाइनका अनुसार अप्रिल पहिलो तारेखसम्म मलेसियाको मानव संशाधन मन्त्रालयमा ४ लाख ७५ हजार ६ सय ७८ जना विदेशी कामदार भर्नाको अनुमति माग गर्दै आवेदन परेको छ ।

मानव संशाधन मन्त्री एम साराभानन्ले सबैभन्दा बढी २ लाख ९० हजार २ सय ४८ जना निर्माण क्षेत्रमा, ७७ हजार सेवा क्षेत्रमा, ५३ हजार ८ सय ५४ प्लान्टेशन क्षेत्रमा, ४३ हजार ५ सय १९ कन्स्ट्रक्सनमा, ११ हजार ३७ जना कृषि र २२ जना माइनिङ अर्थात् खानीका लागि आवेदन परेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्