कर्णालीका जनताले छिट्टै हवाइजहाज सुविधा पाउने

त्रिपुराकोट, डोल्पा, २९ चैत / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले वर्षौदेखि हवाइ सास्ती खेप्दै आएका कर्णालीका जनताले छिट्टै हवाइजहाजको सहज सुविधा पाउने बताउनुभएको छ ।

प्रधानमन्त्रीको त्रिपुरासुन्दरी भ्रमणको व्यवस्थापनका लागि गृहजिल्ला आउनुभएका राज्यमन्त्री बुढाले आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै अब डोल्पाली जनताले पूर्णरुपमा सरकारको सेवा महसुस गर्ने गरी हवाइ उडान र पर्यटनको विकास हुने जिकिर गर्नुभयो ।

नेपाल एअरलाइन्सको उडान थप गर्नाका साथै अन्य निजी कम्पनीका जहाजलाई पनि भाडादरमा एकरुपता गरी सबै जहाज नेपालगञ्ज र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बाह्रै महिना तैनाथ रहने गरी व्यवस्थापनको प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ थियो ।

यही वैशाख १ गते कर्णाली रारा पर्यटन वर्षको उद्घाटन गरी ‘पर्यटन वर्ष २०७५’ मनाइँदैछ । निकट भविष्यमै डोल्पामा रहेको नेपालकै गहिरो ताल शे–फोक्सुण्डो र विश्वकै अग्लो स्थानमा रहेको उपत्यका धोमा विशेष महोत्सव मनाउने तयारी गरिएको जानकारी पनि राज्यमन्त्री बुढाले दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्