बैशाख ३० गतेका लागि तोकिएको स्थानीय निर्वाचन सर्ने संकेत

काठमाडौं । बैशाख ३० गतेका लागि तोकिएको स्थानीय निकायको निर्वाचन सार्ने प्रपञ्च हुन थालेका संकेतहरु बाहिरिन थालेका छन् ।

सत्तारुढ गठबन्धनमा सहभागी दलका प्रमुखहरु नै स्थानीय निकायको निर्वाचन सार्नुपर्ने पक्षमा लागेपछि यसले अवस्था थप पेचिलो बन्ने संकेत देखिएको छ ।

सत्तारुढ दलका नेताहरु भित्रभित्रै निर्वाचनको मिति सार्ने प्रयासमा लागिरहँदा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मंगलबार विराटनगर पुग्दा दिएको अभिव्यक्तिले भित्रभित्रै केही गडबडी भइरहेको प्रष्ट संकेत गरेको छ ।

विराटनगर पुगेर थपलियाले बैशाख ३० गतेको निर्वाचन सार्ने प्रयास भए त्यसले मुलुकमा ठूलो दुर्घटना निम्त्याउने चेतावनी दिएका छन् ।

निर्वाचन समयमै सम्पन्न गराउने जिम्मेवारी पाएको निकायका प्रमुखले नै निर्वाचन आउन एकमहिना मात्र बाँकी छँदा एकाएक संशयपूर्ण अभिव्यक्ति दिनुले पनि भित्रभित्रै केही पाकिरहेको बुझ्न सकिन्छ । उनको यो अभिव्यक्तिले सर्वसाधारणमा अन्यौल बढाउनेछ ।

केही दिनअघि पर्वत पुगेर सत्तारुढ गठबन्धनको एक दल नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले नेत्रविक्रम चन्द९विप्लव० नेतृत्वको दलले निर्वाचनमा सहभागी हुन चाहिरहेको र उसलाई समेट्नका लागि पनि निर्वाचनको मिति सार्नुपर्ने तर्क पेश गरेका थिए ।

उनले पहिलादेखि नै कतिपय स्थानीय निकायका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल पूरा नभएको भन्दै बैशाख ३० मै निर्वाचनमा जाँदा संविधानविपरीत हुने तर्क पेश गर्दै आएका थिए । यसरी हेर्दा नेता नेपाल यो वा त्यो बाहानामा निर्वाचन सार्नुपर्ने पक्षमा भित्रभित्रै लागिरहेका बुझ्न गाह्रो छैन ।

सत्तारुढ गठबन्धनको यही तयारी बुझेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पछिल्ला केही दिनमा चुनाव सार्न लागिएको भन्दै तीव्र रुपमा विरोध गरिरहेको छ ।

उच्च स्रोतहरुका अनुसार सत्तारुढ गठबन्धनका नेताहरु भित्री रुपमा चुनाव सार्ने पक्षमा छन् । तर, त्यसको अवगाल आफ्नो टाउकोमा नआओस् भनेर विभिन्न भरपर्दा निहुँहरु खोज्ने प्रयास भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्