भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रकै भागमा पर्ने निश्चित

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलको तयारीमा रहेका सत्तारुढ गठबन्धनमा तालमेलको मापदण्डबारे सहमति जुटेसँगै भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रकै भागमा पर्ने निश्चित भएको छ ।

माओवादी केन्द्रले भरतपुरमा वर्तमान मेयर रेणु दाहाललाई नै पुनः उम्मेदवार बनाउन चाहेको छ । भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्ने भन्दै चितवन कांग्रेसका नेता कार्यकर्ताहरुले विद्रोहको चेतावनी दिएपनि गठबन्धन नेतृत्वले त्यसलाई नजरअन्दाज गरेको छ ।

गठबन्धनका बैठकहरुमा नियमित सहभागी नेताहरुका अनुसार भरतपुर महानगरको मेयर माओवादीले नै राख्ने निश्चित भइसकेको छ । तल्लो तहमा जति नै विरोध भएपनि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भरतपुरमा रेणुलाई नै पुनः मेयर बनाउने सहमति बनिसकेको छ ।

भतरपुरमा कांग्रेसबाट मेयर बन्न २५ जनाले आकांक्षा देखाएका छन् । कांग्रेस सभापति देउवाले केन्द्रीय समितिको बैठकमा चितवनमा एक्लै लडेर कांग्रेसले नजित्ने दाबी गरेका थिए । चुनावी तालमेल भएपनि भरतपुरको मेयर नछाड्न चितवन कांग्रेसका नेताहरुले सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पदाधिकारीलाई भेटेर माग गरेका थिए ।

निरन्तरको आग्रहका बावजुद भरतपुरमा कांग्रेसले मेयर नपाए अन्तरघात र बागी उम्मेदवारीको अधिक सम्भावना देखिन्छ । ‘यदि भरतपुरको मेयरमा कांग्रेसको च्याप्टर क्लोज भएको हो भने जसले यस्तो निर्णय लिए परिणामको भागीदार पनि उनीहरु नै हुनुपर्छ’, चितवन कांग्रेसका एक नेताले भने ।

ती नेताका अनुसार माओवादीले भरतपुरको मेयर पाए कांग्रेसको असन्तुष्टिले परिणाममा असर पार्नसक्छ । मंगलबार मात्रै भरतपुर महानगरका २९ वटा वडाका कांग्रेस सभापतिहरुले मेयर नपाए विद्रोह गर्ने लिखित चेतावनी दिइसकेका छन् ।

गठबन्धनको मंगलबारको बैठकले वैशाख ५ गतेभित्र स्थानीय तहको तालमेलको खाका केन्द्रमा पठाउन गठबन्धनको तल्लो तहका संयन्त्रहरुलाई निर्देशन दिएको छ । महानगर र उपमहानगरको सिट बाँडफाँ६को निर्णय केन्द्रबाटै टुंगो लगाउने निर्णय गठबन्धनले गरिसकेको छ ।

६ वटा महानगरमध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर पाउने निश्चित छ । भरतपुर माओवादीले पाउने निश्चित हुँदा नेकपा एकीकृत समाजवादीले पोखरा र जसपाले वीरगञ्जमा दाबी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्