ताप्लेजुङमा दुलर्भ रेडपाण्डा अनुसन्धान केन्द्र


ताप्लेजुङ । ताप्लेजुङमा दुलर्भ बन्य जन्तु रेडपाण्डाको अध्ययन तथा अनुसन्धान केन्द्र बनेको छ । सदरमुकाम फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वनमा रेडपाण्डा अनुसन्धान केन्द्र बनेको हो ।

हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा भौतिक संरचनाहरु बनेको मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने उद्देश्यले निर्माण भएको संरचना कूल लागत एक करोड ५७ लाख रहेको छ । वातारणमैत्री भवन भएकाले जैविक सामग्री प्रयोग गरिएको सो भवन काठमाडौंस्थित एसएनपी निर्माण कम्पननीले निर्माण गरिरहेको छ ।

निर्माण व्यवसायी संस्था एसएनपीका साइट सुभरभाइजर अमृत भट्टराईका अनुसार यो स्रोत केन्द्र बनाउँदा प्रयोग भएका सबै कच्चा पदार्थ वातावरणमैत्री र स्थानीय उत्पादनका सामग्री प्रयोग भएको बताए । गोवर, खरानी, अण्डाको खोल, शुद्ध तोरीको तेल, चूना, माटो, परालको टुक्रालाई मुछेर स्रोत केन्द्रको निर्माणमा प्रयोग गरिएको छ । उल्लेखित सामग्रीको मिलानले संरचना वातावरणमैत्री बन्नुका साथै बलियो, टिकाउ र मौसम अनुकुलित प्रकृतिको हुने उनले बताए । नेपालमा यस्ता कमै संरचना रहेको र त्यो तहको संरचना हिमाली जिल्ला ताप्लेजुङमा पनि बनेकामा पूर्वी नेपालकै लागि गौरवकै विषय भएको हिमाली संरक्षण मञ्चले जनाएको छ ।

वि.सं २०७६ मङ्सिर देखि भवनको निर्माण कार्य शुरु भएको हो । गएको असार मसान्तमा सम्पन्न हुनुपर्नेमा कोरोना महामारीका कारण लामो समयको लकडाउनले तोकिएको समयमा पूरा गर्न नसकिएको साइट सुभरभाइजर भट्टराईले जानकारी दिए । भवन निर्माणको कार्य ९९ प्रतिशत सम्पन्न भएको र अबको केहि समयमै संरचना निर्माण सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ ।

देउराली भित्री वन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष निमा कृपा शेर्पाले भवन बनेपछि वन र वन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । स्थानीय स्तरमा भएको जैविक विविधता संरक्षणलगायत वातावरणमैत्री सेवाको प्रवद्र्धन तथा सदुपयोग गर्न, पर्यटन व्यवसाय सञ्चालन गरी वन उपभोक्ता समूहको आयआर्जनका स्रोत स्थापित गर्न तथा महत्वपूर्ण जडिबुटी, रेडपाण्डा र संरक्षित जंगली जनावर, पक्षी र दुर्लभ प्रजातिको प्रदर्शनी थलो बनाउन केन्द्र प्रभावकारी हुने उनको भनाइ छ । मञ्चका सचिव विवस केदेमले पाथीभरा क्षेत्र रेडपाण्डाका लागि उपयुक्त वासस्थान भएको क्षेत्र भएकाले यो केन्द्रलाई अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा विकास गरिने बताए ।


प्रतिक्रिया दिनुहोस्