पाथीभरा मन्दिर जाने सडक कालोपत्रे गर्न शुरु

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिर जाने सडक कालोपत्रे गर्ने कार्य सुरु भएको छ । पानी परेको समय हिलाम्मे र अन्य समय धुलाम्मे हुने पाथीभरा मन्दिर जाने सडक कालोपत्रे गर्ने कार्य गत साता देखि सुरुभएको हो ।

पाथीभरा सडक खण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म ११ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सुरुभएको छ । सडक कालोपत्रे गर्ने कार्यका लागि कन्टेक निर्माण प्रालिसँग माघको पहिलो साता ठेक्का सम्झौता भइसकेको उत्तर दक्षिण मुलघाट, दोभान ओलाङ्चुङगोला सडक योजना कार्यालयले जनाएको छ । सम्झौता भएसंगै कालोपत्रेका लागि अहिले ग्रावेल गर्ने कार्य भईरको कन्टेक निर्माण प्रालिका प्रवन्ध निर्देशक गणेश मैनालीले बताए । उनले भने “अहिले दुईटा मिशिनले ग्रावेल गर्ने कार्य भईरहेको छ । अवको दुई चार दिनमै कालो पत्रे गर्न आवश्यक पर्ने मिशिन तथा आश्यक सामग्री आईपुग्छ ।” मैनालीका अनुसार ठेक्का सम्झौता समय अवधि अगाडीनै कालोपत्रे गरिसक्ने योजनाका साथ निर्माण कार्य तिव्ररुपमा अगाडी बढाउँने योजना रहेको छ ।

कार्यालयका सव इन्जिनियर यहोसु लिम्बूका अनुसार सडक कालोपत्रे गर्न निर्माण कम्पनीसँग ४० करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । दुई वर्षभित्र सुकेटारदेखि पाथीभरा क्षेत्रको काफ्ले पाटीसम्म कालोपत्रे निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको पनि सव इन्जिनियर लिम्बूले बताए । पाथीभरा जाने सडकअन्तर्गत सदरमुकाम फुङ्लिङदेखि सुकेटार विमान स्थलसम्म आठ किलोमिटर दूरी भने विगतमै कालोपत्रे बनेको छ ।

पाथीभरा जाने सडक कालोपत्रे भएपछि पाथीभरामा पूजापाठ गर्न आउने तीर्थयात्रीको संख्या बढ्ने पाभीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । काफ्लेका अनुसार अहिले वार्षिक रुपमा तीन लाखको हाराहारीमा तीर्थयात्रीहरु पाथीभरामा आउने र दर्शन तथा पूजापाठ गर्ने गरेका छन् । सुकेटारदेखि काफ्ले पाटीसम्म सडक कालोपत्रे भएमा करिव ३५ प्रतिशत तीर्थयात्रीको संख्या वृद्धि हुने पाथीभरा क्षेत्र विकास समितिको अपेक्षा रहेको छ ।

हाल कच्ची सडक भएका कारण सुकेटारदेखि उता जुनसुकै सवारीसाधन नजाने हुँदा तीर्थयात्रीले आफ्नो यात्रामा समस्या भोग्दै आई रहेका छन् । तीर्थयात्री आफैँले लिएर आएको सानो गाडी कच्ची सडकमा नजाने हुँदा सुकेटारदेखि यहाँका स्थानीय गाडीमा जानुपर्ने अवस्था रहेकाले तीर्थयात्रीले निक्कै सास्ती खेप्दै आएका छन् । अब पाथीभरा सडक कालोपत्रे बनेमा भने तीर्थयात्रीले लिएर आएको गाडी नै पाथीभरा क्षेत्रसम्म पुग्ने हुँदा देश विदेशका तीर्थयात्रीलाई सहज हुनुका साथै ठूलो राहत मिल्ने कार्यकारी निर्देशक काफ्ले बताउँछन्।


प्रतिक्रिया दिनुहोस्