कांग्रेसले बहुमत ल्याएकोे पालिका नै माओवादी केन्द्रलाई चाहिने भएपछि गठबन्धन अन्त्य भयोे : दीपक खड्का

काठमाडौं । नेपाली कांग्रेस, संखुवासभाका सभापति दीपक खड्का नेकपा (माओवादी केन्द्र) कारण गठबन्धन हुने स्थिति अन्त्य भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’ कार्यक्रममा कुरा गर्दै नेता खड्काले भने, “हामी गठबन्धनका ५ दल ५ दिनदेखि छलफलमा बस्यौं । तर कुरा मिलेन । संखुवासभामा माओवादी केन्द्रले जम्मा ६ वटा वडा जितेको छ । जिल्लाका १० पालिकामध्ये कांग्रेसले ५ वटा प्रमुख र ४ उपप्रमुख जितेको छ भने नेकपा एमालेले ५ वटा प्रमुख जितेको छ । माओवादीले हामीले जितेका पालिकाकै ३ वटा प्रमुख ३ वटा उपप्रमुख मागेपछि उसको अपेक्षा पूरा हुने स्थिति भएन ।”

आफ्नो पार्टीले गठबन्धनबाट भाग्ने कोसिस नगरेको पनि उनले औंल्याए । खड्काले भने, “माओवादी केन्द्रले नेपाली कांग्रेसको बहुमत निर्वाचित भएको ठाउँ माग्यो । हाम्रो मत भएको र जितेको ठाउँमा उसलाई छाड्ने र हारेको ठाउँ लिँदा स्योर भएन । हामी कार्यकर्ताको भावनाभन्दा बाहिर जान सक्दैनौं ।”

अब संखुवासभामा माओवादी केन्द्रबाहेकका गठबन्धन दलसँग तालमेलका लागि छलफल हुने उनले बताए । खड्काले थपे, “हामीले जिल्लामा सहकार्य गरेर अघि बढ्ने भनेका हौं । सहमतिमै गरौं भन्दा माओवादीले मानेन । सहमतिका लागि त उसले बटमलाइन छाड्नुपर्यो एकीकृत समाजवादीको भोट बैंक एमाले नै हो । उसको माओवादीको हाराहारी वा बढी मत हुन सक्छ । । हाम्रो जिल्लामा चित्रबहादर केसीको पार्टी छैन । जसपा ठूलो प्रभाव छैन । तर एकले अर्को अस्तित्व स्वीकारेर जाने हो भने गठबन्धनलाई कुनै समस्या छैन ।”

नेपाली कांग्रेस गठबन्धनबिना पनि एक्लै लड्न सक्षम रहेको सभापति खड्काले बताए ।


प्रतिक्रिया दिनुहोस्