कांग्रेसले पोखरा महानगरको मेयरसहित जिल्लाका ४ वटै गाउँपालिका प्रमुख अन्य दललाई नदिने

काठमाडौंं । नेपाली कांग्रेस कास्कीले पोखरा महानगरको मेयरसहित जिल्लाका ४ वटै गाउँपालिका प्रमुख अन्य दललाई दिन नसक्ने बताएको छ । सत्तारूढ ५ दलीय गठबन्धनको शुक्रबार पोखरामा बसेको बैठकमा कांग्रेसले उक्त कुरा बताएको हो ।

गठबन्धनका शीर्ष नेताहरूले पठाएको निर्देशन अनुसार नै अन्य दललाई महानगरका मेयरसहित गाउँपालिका अध्यक्ष दिन नसक्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।

गठबन्धनका शीर्ष नेताहरूले २०७४ सलाको मतभार र जनमतका आधारमा प्रमुख पदको नेतृत्व गर्ने गरी निर्देशन पठाएको थियो ।

कास्की ५ वटै स्थानीय तहका ७२ वटै वडामा गठबन्धनका अन्य दलभन्दा कांग्रेस बलियो भएकाले निर्देशन अनुसार दाबी पेस गरेको कांग्रेस कास्कीका सचिव भानु ढकालले बताए ।

गठबन्धनबाट उम्मेदवार छान्न कांग्रेसले ५ दिनदेखि उम्मेदवार छनोट प्रक्रिया रोकेको थियो। दिनहुँ गठबन्धन बैठक बस्दासमेत सहमति जुट्न नसकेपछि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको सचिव ढकालले बताए ।

गठबन्धन बैठकमा कांग्रेसले उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख लगायतका पद अन्य दललाई दिन सक्ने प्रस्ताव गरेको थियो ।

निर्वाचनपश्चात कार्यपालिका सदस्य छनोट गर्दा पनि गठबन्धनको सहमति अनुसार जान तयार भए पनि पालिका प्रमुख दिन कांग्रेस तयार देखिएको छैन । कांग्रेसको उक्त प्रस्तावमा गठबन्धनका अन्य दलले भने सहमति जनाएको छैन ।

पोखरा महानगरको मेयरमा नेकपा एकीकृत समाजवादी पार्टीले दाबी गरेको छ भने माओवादी केन्द्रले पनि मेयर दाबी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्