नेपाली कांग्रेसले चुनाव एक्लै लड्नुपर्छ भन्ने धारणा रह्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी स्थानीय तहको निर्वाचनमा अन्य पार्टीसँग तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीभित्र सघन बहस भएको बताएका छन् ।

नयाँ वर्षको अवसरमा शनिबार आयोजित चियापान कार्यक्रममा सम्बोधन गर्दै उनले आफू लगायत केहीको धारणा एक्लै चुनाव लड्नुपर्छ भन्ने पक्षमा रहेको बताए । ‘म लगायत केही साथीहरुको धारणा, बरु केही समय क्षति बेहोर्नुपरे पनि बेहोरौँला । तर, नेपाली कांग्रेसले एक्लै लड्नुपर्छ भन्ने धारणा रह्यो’ उनले भने ।

पार्टीका अन्य नेताहरुले भने कांग्रेस एक्लै आफ्नो तागतमा निर्वाचन लड्न सक्ने र लड्दै आएको भएपनि कम्युनिस्ट पार्टीहरुका कारणले तालमेल गर्नुपर्ने बताएको थापाको भनाइ छ ।

पार्टीले तालमेल गर्ने निर्णय गरेको भए पनि त्यसको अधिकार तल्ला समितिहरुलाई भएको थापाको भनाइ छ । साथै थापाले पार्टीको निर्णयको बारेमा कोही अलमलिनु नपर्ने बताए। तालमेल गर्न वा नगर्न पाउने भएकाले तालमेलका लागि कसैले लाद्न नपाउने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्