एक्लै कुनै पार्टीको बहुमत ल्याउने अवस्था छैन, त्यसैले गठबन्धनलाई अगाडि लिएर जानुपर्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघको ५३ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताएका हुन् ।

‘गठबन्धनले कांग्रेसलाई फाइदा पुगेको छ, धेरै प्रदेशमा मुख्यमन्त्री र मन्त्री पाएका छौं, कांग्रेसमा मैले राम्रो काम गरेजस्तो लाग्छ, गठबन्धन अहिले तोड्नु हुँदैन । निर्वाचनमा एक्लै कुनै पार्टीको बहुमत ल्याउने अवस्था छैन, त्यसैले गठबन्धनलाई अगाडि लिएर जानुपर्छ,’ प्रधानमन्त्री देउवाले भने ।
सभापति देउवाले जबसम्म गाउँ र स्कुल तहमा नेविसंघ गठन हुन सक्दैन, तबसम्म नेविसंघ बलियो हुन नसक्ने बताए ।

‘नेविसंघको संगठन देशभरका कलेज र क्याम्पससम्म फैलिएको छ, तरपनि हामी किन स्ववियु निर्वाचनमा हारिरहेका छौँ, यसबारे नेविसंघ गम्भीर हुनुपर्छ । स्कुल जित्न सकेमात्र कलेज र क्याम्पसमा जित्न सक्छौँ,’ उनले भने । गाउँगाउँ र स्कूल स्कूलसम्म नेविसंघ बनाउन लाग्नुपर्ने उनको भनाइ थियो ।

सभापति देउवाले पार्टीभित्र भागवण्डामा झगडा हुने भएकाले नेविसंघको कार्यसमिति विस्तारमा समस्या हुने गरेको बताए । उनले आफू नेविसंघको अध्यक्ष भएर प्रधानमन्त्री भएको बताउँदै अब मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति बन्ने पालो युवा विद्यार्थीको भएको बताए । ‘राजनीति गरेर मात्र अब चल्दैन पढाइ समेतमा योग्य हुनुपर्छ,’ सभापति देउवाले भने । कांग्रेस एक भएर अगाडि बढे आगामी निर्वाचनमा कुनै शक्तिले हराउन नसक्ने दावी समेत उनले गरे ।


प्रतिक्रिया दिनुहोस्