ओखलढुंगामा कांग्रेस माओवादीले मात्रै चुनावी गठबन्धन गर्ने सहमति

काठमाडौं । ओखलढुंगामा कांग्रेस माओवादीले मात्रै चुनावी गठबन्धन गर्ने सहमति भएको छ । नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनलाई लिएर एकीकृत समाजवादी र जसपालाई थाहै नदिइ कांग्रेस र माओवादीबिच रातारात भागबण्डामा सहमति भएको हो ।

मंगलबार बिहान मित्रवत् प्रतिस्पर्धा गरेर चुनावमा जाने सहमति भएर सत्तासाझेदार दलहरूको बैठक सकिएको भए पनि माओवादी केन्द्र र कांग्रेसबीच रातारात सहमति भएको छ ।

दुई दलबीच भएको सहमतिमा कांग्रेसले तीनवटामा प्रमुख, उपप्रमुखसहित नेतृत्व लिने भएको छ भने माओवादीले एक स्थानीय तहमा प्रमुख र तीनवटामा उपप्रमुख लिने भएको बताइएको छ ।

ओखलढुंगाका ८ स्थानीय तहमध्ये चिशंखुगढी गाउँपालिका माओवादी केन्द्रले नेतृत्व गर्ने छ भने मोलुङ र चम्पादेवी गाउँपालिका र सिद्धिचण नगरपालिकामा उपप्रमुखमा सहमति भएको छ ।

माओवादीको आधार क्षेत्र भनिएको चम्पादेवीमा पनि माओवादी केन्द्र उपप्रमुखमा चित्त बुझाएर दुई दलीय सहमति गरेकोमा माओवादी कार्यकर्ता भने असन्तुष्ट भएका छन् ।

जिल्लाको खिजिदेम्बा, सुनकोशी र मानेभञ्ज्याङ्ग गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष नै नेपाली कांग्रेसलाई दिन माओवादी केन्द्र सहमत भएको छ ।

माओवादी केन्द्रले ओखलढुंगाको माओवादी उद्गम स्थल भनेर चिनिने लिखु गाउँपालिकामा भने आफ्नो दाबी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्