को बन्ला फुङ्लिङ नगारपालिका प्रमुख ?


ताप्लेजुङ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । अधिकांश स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ दलका नेता कार्यकर्ता यतिबेला चुनाव केन्द्रित कार्यक्रम लिएर गाउँ–गाउँ पुग्न थालेका छन् । केन्द्रीय निर्देशन अनुसार नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी (एस), जनता समाजवादी पार्टी ( जसपा ) र जनमोर्चासँग एकअर्कामा चुनावी साझेदारी र सहयोग गरेर जाने भन्ने कुरा उल्लेख भएको छ । तर हालसममको देशैभरिको नतिजा हेर्दा सबै ठाँउमा यसरी चुनावी तालमेल हुने स्थिति भने देखिँदैन ।

केन्द्रिय निर्देशनप्रति स्थानीय नेता तथा कार्यकर्ता रुष्ट देखिन्छन् । ताप्लेजुङको स्थितिलाई हेर्ने हो भने गठबन्धनको बैठक पटक पटक बसेपनि कुनै निष्कर्षमा भने पुग्न सकेको छैन । यससँगै ताप्लेजुङको एक मात्र नगरपालिका फुङलिङ नगरपालिकाको प्रमुख कुन पार्टीको उम्मेद्धार बन्ला सबैलाई चासोको विषय बनेको छ ।

गत ०७४ को निर्वाचनमा नगरपालिकामा माओवादी र काँग्रेसले गठबन्धन गरेर चुनावमा भाग लिएको थियो भने एमाले एक्लै प्रतिस्पर्धामा सामेल भएको थियो । तर गठबन्धनको पक्षमा नतिजा भने आउन सकेन । गठबन्धनका तर्फबाट साझा उम्मेद्धार काँग्रेसका केशव प्रसाद दाहाल एमालेका छत्रपति प्याकुरेलसँग पराजित भए । दाहालले ३,६०६ मत ल्याउँदा ३,८९५ मत ल्याउँदै प्याकुरेल नगर प्रमुखमा विजयी भएका थिए । नगर प्रमुखमा तिन राजनीतिक दलका उम्मेद्धार र दुई स्वतन्त्र गरि पाँच जना बिच प्रतिष्पर्धा भएको थियो । नगरप्रमुखमा संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्चका किर्तीमान मादेनले ७८८ मत, स्वतन्त्र उम्मेद्धार खगेन्द्र पोर्तेलले १० मत र अर्का स्वतन्त्र उम्मेद्धार छविन्द्र गुरुङले १७ मत प्राप्त गरेका थिए ।

त्यस्तै गरि उपाध्यक्षमा माओवादीका बम बहादुर भट्टराई विजयी भएका थिए भने १ र २ नम्बर वडामा एमालेको प्यानल नै विजयी भएको थियो । ३ नम्बर अध्यक्षमा नेपाली काँग्रेस र सदस्यमा एमालेका चार जना विजयी भएका थिए । ४ नम्बर अध्यक्षमा माओवादी, सदस्यमा दुई एमाले र दुई जना काँग्रेसका विजयी भएका थिए भने ५ नम्बर अध्यक्ष सहित तिन सदस्य एमाले र एक सदस्य काँग्रेसका, ६ नम्बरमा काँग्रेसको प्यानलै विजयी भएको थियो । ७ नम्बरमा अध्यक्ष सहित एक सदस्य काँग्रेस र तिन सदस्य एमालेबाट विजयी भएका थिए भने ८ नम्बरमा अध्यक्ष सहित दुई सदस्य काँग्रेस र दुई सदस्य एमालेबाट विजयी भएका थिए । त्यस्तै गरि ९ नम्बरमा पनि अध्यक्ष सहित दुई सदस्य काँग्रेस र दुई सदस्य एमालेबाट, १० नम्बरमा अध्यक्ष सहित तिन सदस्य एमाले र एक जना सदस्य काँग्रेसबाट, ११ नम्बर अध्यक्ष सहित एक सदस्य माओवादी र तिन सदस्य एमालेबाट विजयी भएका थिए ।

यसरी हेर्ने हो भने पाँच वडा अध्यक्ष सहित १३ सदस्य नेपाली काँगे्रस, चार वडा अध्यक्ष सहित ३० सदस्य एमाले, दुई वडामा अध्यक्ष सहित एक वडा सदस्य माओवादीले विजयी हाँसिल गरेको थियो । सबैवडाको मतलाई जोड्ने हो भने २३,८६३मत प्राप्त गर्दै एमाले पहिलो, १५,५३२ मत प्राप्त गर्दै काँग्रेस दोस्रो र ९,७३४ मत प्राप्त गर्दै माओवादी तेस्रो पार्टीको रुपमा देखिन्छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ३,५९२ मत प्राप्त गर्दै चौथो, नयाँशत्ति १,६९१ मत प्राप्त गर्दै पाँचौं, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १,१२२ मत प्राप्त गर्दै छैटौं, संघीय समाजवादी फोरम,नेपालले ५५० मत प्राप्त गर्दै सातौं र राष्ट्रिय जनमुक्ति पार्टीले १९४ मत प्राप्त गर्दै आठौं शक्तिको रुपमा देखिएको छ ।

यसरी ०७४को प्राप्त मतभारलाई विष्लेशण गर्ने हो भने काँग्रेस,माओवादीले अन्य साना राजनीतिक दलसँग गठबन्धन गरे ७४ को निर्वाचनमा जस्तो अन्तरघात नहुने हो भने नगर प्रमुखमा गठबन्धनका उम्मेद्धार विजयी हुने निश्चित देखिन्छ भने एक्ला एक्लै प्रतिस्पर्धामा पार्टी होमिए एमाले विजयी हुन सक्छ ।

वडाहरुको स्थिति हेर्ने हो भने गठबन्धन गरिए साथै अन्तरघात नभए प्रायस् सबै वडामा विजयी हुने अवस्था देखिन्छ । भने गठबन्धन नगरि राजनीतिक दल चुनावमा भाग लिए भने ११ वडा मध्ये धेरै वडा एमाले, काँग्रेस र त्यसपछि माओवादीले जित्ने देखिन्छ । काँग्रेस र माओवादीले गठबन्धन गरेपनि, माओवादी र एमालेले गठबन्धन गरेपनि, काँग्रेसले एमालेसँग गठबन्धन गरेपनि मुख्यतयता तिन ठुला राजनीतिक दलले आफुहरु बिच जोसँग साझेदारी गरेपनि गठबन्धन कै जित सुनिश्चित हुने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्