स्थानीय तहको निर्वाचनमा कुन पदमा उम्मेदवारी कति धरौटी रकम राख्नुपर्छ ?

काठमाडौं । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेहरुको लागि फरक फरक धरौटी रकम राख्नुपर्ने व्यवस्था गरेको छ ।

स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ मा उम्मेदवारी दिँदा राख्नुपर्ने धरौटी रकमबारे स्पष्ट उल्लेख गरिएको छ । वडा सदस्य, वडा अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुख लगायतका पदमा उम्मेदवारी दिँदा निश्चित रकम धरौटी राख्नुपर्नेछ ।

निर्देशिका अनुसार वडा सदस्य पदको लागि पाँच सय रुपैयाँ र वडा अध्यक्ष पदमा उम्मेदवारी दिँदा एक हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ ।यस्तै अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुख पदको लागि एक हजार पाँच सय रुपैयाँ र गाउँकार्यपालिका वा नगर कार्यपालिकाको सदस्य पदको लागि पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

जिल्ला समन्वय समितिको सदस्य पदको लागि एकहजार पाँचसय रुपैयाँ र जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदको लागि दुईहजार रुपैयाँ धरौटी राख्नुपर्ने प्रावधान राखिएको छ ।

महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिको हकमा धरौटी रकममा पचास प्रतिशत छुट हुने निर्देशिकामा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्