शीर्ष नेताहरु सहमतिमा आए पनि कार्यकर्ता असहमत, निर्णयविरुद्ध लाग्ने जोकोहीलाई कारवाही हुने चेतावनी

काठमाडौं । सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगर पालिकामा भागवण्डा टुंग्याएको छ । भागवण्डामा पार्टीका शीर्ष नेताहरु कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेकी छन् ।

सत्तागठबन्धनका शीर्षस्थ नेताहरुले चुनावी तालमेल गरेर जाने सहमति गरे पनि स्थानीय स्तरमा भने असन्तुष्टि देखा परेको छ । खासगरी कांग्रेसका स्थानीय स्तरमा नेता÷कार्यकर्तामा असन्तुष्टि देखा परेको छ ।

कांग्रेसका नेताकार्यकर्ताले पार्टी छाड्ने, विद्रोह गर्ने, स्वतन्त्र उठ्ने लगायतका चेतावनी दिन थालेका छन् । माओवादी केन्द्रले पाएको भरतपुर ममहानगर र नेकपा एकीकृत समाजवादीले पाएको पोखरा महानगरका विषयमा जिल्लाका नेताहरुको असन्तुष्टि चुलिएको छ भने विभिन्न उपमहानगरपालिकामा पनि एक्लै लड्नुपर्नेमा कांग्रेस कार्यकर्ताको जोड देखिन्छ ।

तर, शीर्ष नेताहरु कार्यकर्तालाई निर्णय मानेर जान भनिरहेका छन् । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता वालकृष्ण खाँडले गठबन्धनको निर्णयविरुद्ध लाग्ने जोकोहीलाई कारवाही हुने चेतावनी नै दिएका छन् । ‘गठबन्धनको निर्णयविरुद्ध लाग्नेहरूलाई पार्टीले कारबाही गर्छ, तसर्थ पार्टी केन्द्रको निर्णय अनुसार नै चुनावमा खटिनुस्, नेपाली कांग्रेसको विजय सुनिश्चित छ,’ मन्त्री खाँडले भनेका छन् ।


प्रतिक्रिया दिनुहोस्