सुन चोरीको भिडिओ भाइरल भएपछि मेयरको उम्मेदवारी खोसियो

काठमाडौं । नेकपा एमालेले पोखरा महानगरपालिकामा यसअघि मेयर उम्मेदवार सिफारिस भएका दीपक पौडेलको उम्मेदवारी खोसेको छ । 

सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भएपछि एमालेले पौडेललाई उम्मेदवार नबनाउने निर्णय गरेको हो । उक्त भिडिओमा एउटा सुन पसलमा चोरी भएको देखिन्छ । 

उक्त चोरी गर्ने व्यक्ति पौडेल भएको भन्दै सामाजिक सञ्जालमा भाइरल बनाइएको थियो । पौडेलले भने भिडिओमा देखिने व्यक्ति आफू नभएको बताएका थिए । 

अब उनको ठाउँमा एमालेले कृष्ण थापालाई मेयर उम्मेदवार बनाउने भएको छ ।  यसअघि एमालेले गण्डकी र लुम्बिनीमा प्रदेश सांसदलाई स्थानीय तहमा उम्मेदवार नबनाउने निर्णय गरेको थियो । 

थापा गण्डकी प्रदेश सांसद हुन् भने २०५४ को निर्वाचनबाट पोखराका मेयर निर्वाचित भएका थिए। उनी एमाले केन्द्रिय सदस्य हुन् ।

उपमेयरमा मञ्जुदेवी गुरुङ चुनाव लड्न तयार भएकी छिन् । गुरुङलाई पनि शनिबार बसेको केन्द्रीय सचिवालयले उपमेयरमा उठाउने निर्णय गरेको थियो । तर गुरुङले आफूसँग परामर्श नगरी टिकट दिएको भन्दै आइतबार अस्वीकार गरेकी थिइन् । 

हाल पोखराको उपमेयर रहेकी गुरुङ आइतबार उपमेयरमा चुनाव नलड्ने बताएकी थिइन् । उनी पनि एमाले केन्द्रीय सदस्य हुन् ।


प्रतिक्रिया दिनुहोस्